बैतडी। बैतडीको पाटन नगरपालिकास्थीत दुई घरबाट सुन र नगद चोरी भएको छ। बुधबार दिउँसो बैतडीको पाटन नगरपालिका ४ बत्थीका गंगासिंह महरा र तारासिंह महराको घरबाट सुन र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
गंगासिंहको घरबाट एक तोला चार आनाको गलोबन्द र ४ आनाको तिलरी चोरी भएको छ। यस्तै सोही ठाउँका तारासिंहको घरबाट २ आना र ५ आनाको दुईटा तिलरीसहित नगद ६ हजार तीनसय रुपैंया चोरी भएको प्रहरीले जनाएको छ।
घरभित्र बाकसमा राखेका सुनका गहना र नगद चोरी भएको स्थानीय तारासिंह महराले बताए। गाउँमा दिउँसो एकजना अपरचित व्यक्ति आएको जानकारी भएको तर को हो भन्ने कुरा अहिले सम्म नखुलेको बताइएको छ। कसले चोरी गर्यो भन्ने कुरा अहिले सम्म खुलेको छैन्। जिल्ला प्रहरी कार्यालय बैतडीले चोरी कार्यमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको जनाएको छ।