बझाङ। बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसो दुई पटक भूकम्प गएको छ। मंगलबार गएको शक्तिशाली भूकम्पपछि सर्वसाधारण त्रसित बनेका छन् । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो ।बझाङ सदरमुकाम चैनपुरका कैयन पक्कीघरहरु चर्किएको स्थानीय पत्रकार सम्राट सिंहले जानकारी दिए ।‘कैयन घरहरु चर्किएका छन्, ग्रामीण क्षेत्रमा कहाँ के भयो क्षतिको कुनै विवरण आइसकेको छैन’, उनले भने ।
यद्यपि ग्रामीण क्षेत्रमा ठाउँठाउँमा घरहरु भत्किएको खबर आएको उनले बताए ।उनका अनुसार हालसम्म मानवीय क्षतीको कुनै विवरण भने आइसकेको छैन। स्थानीयका अनुसार दुर्गाथली गाउँपालिका वडा नम्बर २ स्थित महालिंग आधारभूत विद्यालय भवन भत्किएको छ। भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ।
व्यवसायीहरुदेखि सर्वसाधारणसम्म अहिले खुला ठाउँमा भेला भएर बसिरहेको पत्रकार सिंहले जानकारी दिए ।भूकम्पले बझाङका धेरै ठाउमा घरहरु र विद्यालयहरु भत्काएको छ भने जयपृथ्वी राजमार्गको बिभिन्न ठाउँमा पहिरो गएर बाटो समेत अवरुद्द भएको छ। यस्तै बझाङ अहिले नेटवर्कले पनि काम गरिरहेको छैन।