बैतडी। नेपाल राष्ट्र बैङ्कले एक सय दरभन्दा ठुला दरका भारतीय नोट साथमा राख्न, ओसारपसार तथा कारोबारमा प्रतिबन्ध गरेको सूचना सार्वजनिक भएपछि स्थानीय समस्यामा परेका छन् ।झुलाघाट नाकामा भने भारतीय रुपियाँ साट्ने सटही काउन्टर २३ वर्षदेखि बन्द छ ।
काउन्टर बन्द हुँदा नेपाली मुद्रा साट्न चर्को कमिसन दिनुपर्ने बाध्यता बनेको स्थानीय बताउँछन् ।भारतमा मजदुरी गरेर स्वदेश फर्किनेलाई एक सय भारतीय रुपियाँ खोज्न पनि भारतीयलाई कमिसन दिनुपर्ने अवस्था आएको छ । रोजगारीका लागि भारत जाने नेपालीको न जीवन बिमा छ, न त बैङ्क खाता नै ।
मजदुरी गरेर घर फर्किंदा अधिकांश नेपालीसँग पाँच सय र दुई हजार भारतीय रुपियाँका नोट हुने गरेको मजदुरले बताएका छन् । घर फर्किंदा एक सय रुपियाँ भारतीय मुद्रा खोज्न कमिसन दिनुपर्ने अवस्था आएको झुलाघाटमा भेटिएका मजदुर महेश जागरीले गुनासो गरे ।राष्ट्र बैङ्कले भारत भ्रमणका लागि भारु २५ हजारसम्म र औषधोपचारका लागि भारु ५० हजारसम्मको सटही सुविधा बैङ्क तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख गरेको छ।
महाकाली भन्सारसँगै रहेको झुलाघाट सटही काउन्टर द्वन्द्वका बेला २०५७ सालमा बन्द भएको थियो । शान्ति प्रक्रियापछि भन्सार कार्यालय स्थापना भए पनि काउन्टर स्थापना नहुँदा समस्या भोग्नु परेको स्थानीयवासी रघुवीर थापाले बताए ।व्यापार, व्यवसाय र उपचारका लागि नेपालबाट भारत जाँदा पाँच प्रतिशत कमिसन दिएर नेपाली मुद्रा साट्नुपर्ने बाध्यता रहेको गुनासो उनको छ । आतपत्कालीन समयमा उपचारका लागि भारतको पिथौरागढ जाँदा नेपाली मुद्रा नचल्दा पाँच प्रतिशत कमिसन दिएर मुद्रा साट्नुपर्ने बाध्यता छ ।
राष्ट्रिय वाणिज्य बैङ्क बैतडीका मेनेजर दीपेन्द्र अवस्थी गोठालापानी शाखाको एटिएम सेवाबाट जुनसुकै बेला पनि १० हजार रुपियाँसम्म साट्न सकिने सेवा उपलब्ध गराएको बताए । एटिएमबाट १० हजार भारतीय रुपियाँ निकाल्दा करिब २५३ रुपियाँ सेवा शुल्क लाग्ने गरेको छ । झुलाघाट नाकाबाट दैनिक लाखौँ रुपियाँको कारोबार हुने गरेको छ । सीमा नाकामा सटही काउन्टर नहुँदा नेपाली व्यवसायी र मजदुरले समस्या भोग्नु परेकोे गुनासो गरेका छन् । ज्याला मजदुरी गरेर स्वदेश फर्किने नेपालीले घर फर्किने बेलामा नाकामा घुस दिनुपर्ने त आमगुनासो नै छ ।