काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको बढेको मूल्य फिर्ता लिन निर्देशन दिएका छन्। नेपाल आयल निगमका पदाधिकारीहरूसँग असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले पुरानो मुल्यसुची कायम गर्न निर्देशन दिएका हुन्।
पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गर्न पनि निर्देशन दिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् । अब केही समयमै नेपाल आयल निगम सञ्चालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने समेत उनले बताइन् ।
आज नै प्रधानमन्त्री प्रचण्डले सदनलाई सम्बोधन गर्दै आयल निगमले मूल्यवृद्धि गर्दै गरेको कुरा आफ्नो जानकारीमा नभएको र प्रधानमन्त्री या सम्बन्धित मन्त्रालयको निर्णयभन्दा पनि केही महिना पहिला आयल निगमले ऋण तिर्दै बिस्तारै नाफातिर गइरहेको अवस्थामा अटोमेसनमा मूल्य बढाएको तर जनताको भावना विपरीत रहेको बताए । अहिलेको परिस्थितिमा मूल्यवृद्धि फिर्ता लिनुपर्छ भनेर निर्णय लिएको र त्यही अनुसार निगमले मूल्यवृद्धि फिर्ता लिएको बताए ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो। त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो । पुरानै मूल्य कायम हुँदा ग्याँसको मूल्य प्रतिसिलिण्डर १९९५ रुपैयाँ हुनेछ । यस्तै, पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८०.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८२ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८३ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७०.५, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ नै कायम हुने भएको छ।