धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा योग शिविर सुरू भएको छ। वडा कार्यालय प्राङ्गणमा शनिबारदेखि पाँच दिने योग शिविर सुरू भएको हो। पाँच दिनसम्म चल्ने योग शिविरको आयोजना ११ नम्बर वडा कार्यालयले गरेको हो भने सहयोग पतञ्जलि योग समिति कैलालीको रहेको छ।
वडाध्यक्ष रुपकबहादुर कुँवरको अगुवाइमा वडा सदस्यहरू र अन्य वडावासी योग शिविरमा सहभागी भएका छन्। पहिलो दिन ३७ जना स्थानीयको सहभागिता रहेका थियो भने भोलिबाट अझै संख्या बढाउने अध्यक्ष कुँवरले बताए।
उनले स्थानीयलाई नियमित योगाभ्यास गर्न उत्प्रेरित गर्न पाँच दिने शिविर आयोजना गरेको बताए। योग शिविरमा पतञ्जलि योग समिती कैलालीका अध्यक्ष श्यामराज श्रेष्ठ, जिल्ला युवा प्रभारी सुवास बमसहित ८ जना योग गुरु र योग सह–शिक्षकहरूले स्थानीयलाई पाँच दिनसम्म योग प्रशिक्षण गराउने छन्।