धनगढी। नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विरोध कार्यक्रम गरेको छ। चिकित्सकमाथि भइरहेको आक्रमण तथा कुटपिट विरुद्ध संघले विरोध कार्यक्रम गरेको हो।
सेती प्रादेशिक अस्पतालदेखि सुरु भएको विरोध र्याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै अस्पतालको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो।संघका सचिव डाक्टर कपिल भट्टले पछिल्लो समय चिकित्सकलाई काम गर्ने वातावरण नभएको बताए। काम गरिरहेको स्थानमा सरकारले चिकित्सकलाई सुरक्षित बनाउनुपर्ने उनीहरूकको माग छ।
नेपाल चिकित्सक संघले लमजुङ अस्पताल र मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ। पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले डाक्टरमाथि आक्रमण गरेका थिए। बिरामीको मृत्युको विषयलाई लिएर मणिपालका चिकित्सकमाथि आक्रमण भएको हो।लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो।
दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका थिए। आइतबार जिल्ला अस्पताल लमजुङका डा सन्दीप अधिकारीमाथि कुटपिट भएको थियो। कुटपिटको आरोपमा ऋषि बस्नेतलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।यस्तै पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको ‘आक्रमण’मा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। चिकित्सकमाथि आक्रमणको आरोपमा कास्कीको पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने ३४ वर्षीय बिनय गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।