महेन्द्रनगर। सुदूरपश्चिम विश्वविद्यालयमा अढाई महिनादेखि लगाइएको ताला खुलेको छ । विद्यार्थी संगठनहरुले विभिन्न माग राख्दै केन्दीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठनबीच भएको सहमति पछि खुलेको हो।
विश्वविद्यालय प्रशासन र समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन नियम बमोजिम गर्ने, विश्वविद्यालयको ऐन बमोजिम समायोजन गर्ने र गत भदौमा परिक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियूका नेतालाई लगाएको मुद्धा फिर्ता लिने सहमतिपछि केन्द्रिय कार्यालयको ताला खुलेको अनेरास्ववियूका जिल्ला संयोजक रमेश पन्तले जानकारी दिए ।
केन्द्रिय कार्यालयमा साउन १ गते नेकपा एमाले निकट अनेरास्ववियू र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनले तालाबन्दी गरेको थियो । यी दुई संगठनसंग सहमति भएर यसअघि नै ताला खुले पनि नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठनको ताला खुल्न सकेको थिएन। समाजवादी निकट अनेरास्ववियूका माग पुरा गर्ने सहमति पछि बिहिबार विश्विद्यालयको ताला खुलेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ।