बैतडी। बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका ८ हरिचन घर भई बाजुरामा कार्यरत सशस्त्र प्रहरी हवल्दार ४० बर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट गएराति मृत्यु भएको हो ।
बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले राति १ बजेतिर ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । बाजुराबाट घर आएका महरा खोड्पेमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बताईएको छ। महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन् ।
महराको शव बीच सडकमै रहेको छ । गाडीको ठक्करबाट महराको मृत्यु भएपछि अहिले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । मृतकका आफन्तहरुले दोषीको पहिचान नहुँदा सम्म गाडी चल्न नदिने बताएका छन् ।ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।