बाजुरा। सुर्खेतबाट हुम्ला जाँदै गरेको मिनि ट्रक बाजुरामा दुर्घटना भएको छ।आइतबार सुर्खेतबाट खाद्यान्न बोकेर हुम्ला जादै गरेको कर्णाली प्रदेश ०२-००१६ ख ०५५७ नम्बरको मिनि ट्रक बाजुराको जगन्नाथ गाउँपालिका ३ बेर्मा बजार नजिकै दुर्घटना भएको हो।
आइतबार दिउँसो ट्रक दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। घाइते हुनेमा दैलेख जिल्ला आठविस गाउँपालिका-४ का ट्रक चालक ३६ वर्षीय देविराम सिजापती, दैलेख दुल्लु नगरपालिका-२ का सहचालक १७ वर्षीय अर्जनु विक र ट्रकमा सवार भएका जाजरकोटका वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने २२ वर्षीय मोहन घर्तिमगर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिएका छन्।
उनका अनुसार चालक सिजापतिको टाउकोमा चोट र दायाँ खुट्टा भाँचिएको र सह-चालकको टाउको चोट लागेको छ। ट्रकमा सवार रहेका घर्ती मगर भने सामान्य अवस्थामा रहेका छन्। चालक सिजापति सहित तीनै जनालाई उपचारका लागि उद्धार गरेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको निरीक्षक सिंहले बताएका छन्। कर्णाली प्रदेशको सुर्खेतबाट खाद्यान्न बोकेर हुम्ला जाँदै गरेको ट्रक कर्णाली करिडोर सडकबाट करिब दुई सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटना कसरी भएको भन्ने बारेमा खुलेको छैन। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।