काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।अध्यक्षका अर्का उम्मेदवार विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध निर्वाचित भएका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए।
अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो । क्यानको अध्यक्षमा चन्द पुनः दोहोरिएका हुन् । अध्यक्ष चन्दसंगै उपाध्यक्षमा रोशन कुमार सिंह र कोषाध्यक्ष पदमबहादुर खड्कासमेत निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।लामो समयदेखि क्रिकेटको क्षेत्रमा काम गरिरहेका चन्दले बैतडी क्रिकेट संघको अध्यक्षका साथै क्षेत्र नं ६ बैतडीको अध्यक्ष भएर जिम्मेवारी सम्हालेका थिए।
नेपाली क्रिकेटको विकासमा चन्दको महत्वपूर्ण योगदान रहेको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष चन्दले बताए। चन्दको नेतृत्वमा रहेको क्यानले क्रिकेट क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको उनले बताए। ‘अब टेष्ट क्रिकेटको आधारशाला तयार पार्नु छ । सरकारलाई दबाब दिइरहेका छौं,’ उनले भने, ‘क्रिकेट एक तह माथि जान्छ ।’ नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौंमा सुरु भएको साधारणसभा आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । सचिव लगायत अरु पदका लागि निर्वाचन जारी छ ।