धनगढी। महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपाललाई सेमिफाइनलसम्म लग्न महत्वपूर्ण योगदान दिएका तीन महिला क्रिकेटरलाई गृहनगर धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले सम्मान गरेको छ।
नेपाली टोलीमा रहेका धनगढीका कविता कुँवर, ईश्वरी विष्ट र रुवि पौदारलाई डीसीएले बिहीबार सम्मान गरेको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा ग्रेस इन्टरनेसनलका निर्देशक अन्ड्रु पौडेलले तीनैजनालाई सम्मान गरे।
सम्मान ग्रहण गरेपछि कविताले ग्रासरुट क्रिकेटको विकासमा डीसिएको महत्वपूर्ण योगदान रहेको र लामो समयदेखि यहाँको क्रिकेट विकासमा भूमिका खेलेको संस्थाबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताए। सम्मान गर्दै अन्ड्रुले राष्ट्रिय खेलाडीहरु देशको गहना भएको र सम्मानको अवसर दिएकोमा डीसिएलाई धन्यवाद दिए।
गत साता भएको प्रतियोगितामा थाइल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो। डीसीएले अन्तर्राष्ट्रिय खेलाडीहरुलाईं शतप्रतिशत निशुल्क प्रशिक्षणको व्यवस्था मिलाउँदै आएको छ। साथै सबै महिला खेलाडीहरु निशुल्क प्रशिक्षणको व्यवस्था छ। डीसीएमा आधा दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीहरु प्रशिक्षणरत छन्। लगत्यै डीसिएले महिला खेलाडीको विकासका लागि प्रिसेस कप क्रिकेटको पनि आयोजना गर्दछ। सम्मान कार्यक्रममा डीसिएका प्रशिक्षक राजु रिजाल, प्रबन्धक समुयल न्यौपानेलगायतको उपस्थिति थियो।