अमेरिका। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भटवार्ता भएको हो।
प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै, नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच छलफल भएको छ।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार अमेरिका गएका थिए। प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको विश्वास पुनःजागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य दिने कार्यसूची छ ।न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्।महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन्।प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जानेछन्।