बझाङ। बझाङमा दुई बालिकामाथि गरेको सामूहिक बलात्कारको आरोपमा ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बझाङको मष्टा गाउँपालिकाका दुई जना बालिकालाई ३ जनाले सामूहिक बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
आरोपित तीनै जनाको उमेर नखुलेको र उनीहरू घटनास्थलबाटै फरार रहेको प्रहरीले बताइएको छ । पीडित १२ र १३ वर्षका बालिका अहिले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा छन् । गत भदौ १४ गते साँझ ६ बजेतिर पसल हिँडेका बालिकालाई आरोपितले स्थानीय सरस्वती मावि हातामा बोलाएको र नजिकैको जंगलमा लगेर बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् ।
‘साँझ ६ बजे गाउँनजिकैको पसलमा कापी किन्न भान्जीसँग पसल गएकी हो । त्यहीँनेर स्कुलमा खेलिरहेका तीन जनाले मेरी छोरी र भान्जीलाई बोलाएर चाउचाउ बिस्कुट खुवाएछन् । त्यहाँबाट आसीकारन्या जंगलमा लगेर बलात्कार गरेर भागेछन्,’ एक पीडित बालिकाकी आमाले भनिन्, ‘मध्यरातमा छोरी र भान्जी भेटायौं। त्यतिबेला दुवै जना होसमा थिएनन्।’
पीडितका आफन्तलाई पीडकका आफन्तले धम्क्याइरहेको पनि उनले बताइन्। ‘उनीहरूका आफन्तले हामीलाई त्यत्तिकै आरोप लगाउने रु खुकुरी हान्दिछौं भनेर उल्टै थर्काइरहेका छन् ।’जिल्ला प्रहरी कार्यालय बझाङले भने आरोपितहरुको खोजी भइरहेको बताइरहेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेश चौधरीले भने, ‘स्वास्थ्य जाँच गर्दा बालिकामाथि करणी गरेको प्रमाणित भइसकेको छ। मुद्दा दर्ता गरेर अभियुक्तको खोजी भइरहेको छ।’ उनले अभियुक्तहरूको उमेर प्रमाणित गर्नका लागि वडालाई पत्र लेखिएको र अदालतबाट पक्राउ पुर्जी लिएर खोजी कार्य भइरहेको बताए।