धनगढी : एकजना वडा सचिव मृत भेटिएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत भेटिएका हुन् ।
पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने प्रहरी निरीक्षक नायकले बताए । पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा लगिदैछ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पन्त पहिले वडा नम्बर १० का सचिव थिए । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका १ हो ।