धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा बझाङको उरै नाका पुनः सञ्चालनमा ल्याउने विषयलाई एजेन्डामा समावेश गर्न सुदूरपश्चिमका व्यवसायीले अनुरोध गरेका छन् ।
नेपाल उद्योग वाणिज्य सङ्घ सुदूरपश्चिम प्रदेशसहित उद्योग, पर्यटन, होटललगायत क्षेत्रका व्यवसायीले उरै नाका सञ्चालनमा ल्याउन चीनसँग कूटनीतिक पहल गरिनुपर्ने बताएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाउँदै आवश्यक पहल गरिदिन व्यवसायीले आग्रहसमेत गरेका छन् ।
छिमेकी मुलुक चीनसँग जोडिएको उरै व्यापारिक नाका खोल्न सकेमा उद्योग, पर्यटन तथा व्यापारका माध्यमबाट यस प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने व्यवसायीको अपेक्षा छ । रेशम मार्गको मुख्य शाखाका रूपमा रहेको उरै नाकामार्फत करिब एक हजार वर्षदेखि व्यापारिक र धार्मिक गतिविधि हुँदै आएकोमा कोरोनापछि चीन सरकारले यो नाकाबाट प्रवेश निषेध गरेको थियो ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा०का प्रदेश अध्यक्ष पदमविक्रम सिंहका अनुसार नाका बन्द हुँदा यस क्षेत्रको परम्परागत व्यापारिक, धार्मिक गतिविधि, सीमा क्षेत्रका बासिन्दाको दैनिक गतिविधि र पारस्परिक सम्बन्धहरू प्रभावित भएका छन् ।
भारतको राजधानी नयाँ दिल्लीलाई चीनको तिब्बतसँग छोटो दुरीमा जोड्न सक्ने उरै नाका सञ्चालन हुन सकेमा सुदूरपश्चिम प्रदेशको मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा नै महत्त्वपूर्ण योगदान पुग्ने व्यवसायीको धारणा छ । उनीहरूले त्रिदेशीय उरै नाका खुलाउनुपर्ने माग राख्दै आएका छन् । मुख्यमन्त्री शाहले आफूले परराष्ट्रमन्त्रीसँगको भेटमा सुदूरपश्चिमबाट चीन जोड्ने बाटो र सुदूरपश्चिमका आयोजनालाई एजेन्डाका रूपमा समेट्न आग्रह गरेको बताए ।