धनगढी। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ। कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ४ लालपुर वाणीकी बस्ने २५ वर्षीया राधा परियारको सोमबार मृत्यु भएको हो।
अवधी नपुग्दै व्यथाले च्यापेपछि शुक्रबार सेती अस्पतालमा भर्ना भएकी राधाको सोमबार बिहान ८ बजे मृत्यु भएको हो। प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले शल्यक्रिया गरेर मृत नवजात शिशुलाई जन्म दिएकी परियारको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको बताए। उपाध्यायकाअनुसार शल्यक्रिया गरेर परियारको गर्भमा रहेको मृत शिशु निकालिएको थियो।
सो क्रममा शरीरमा अक्सिजनको मात्रा कम भएपछि परियारलाई भेन्टिलेटरमा राखिएको थियो। अस्पतालले प्रसूति व्यथाको पीडाका कारण शल्यक्रिया पश्चात् परियारको मृत्यु भएको बताएको छ । परियार मुर्छा परेको र आइसियुमा राखेर उपचार गर्दा पनि होस नखुलेर मृत्यु भएको अस्पतालले प्रारम्भिक जानकारी दिएको छ। मृतकका आफन्तले प्रसुती वार्डका नर्सिङ स्टाफ र डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै कारवाहीको माग गरेका छन्।
मृतक राधाकी जेठानी कल्पना परियारले अस्पतालको लापरबाहीले राधाको मृत्युु हुन पुगेको बताएकी छिन्। उनले बहिनीलाई लिएर शुक्रबार अस्पताल आएको र आइतबारसम्म उनको शल्यक्रिया नगरिएको बताए । बच्चाको टाउको ठूलो थियो भन्ने थाहा हुँदाहुँदै पनि समयमा शल्यक्रिया नगर्दा आमा र बच्चाको ज्यान गएको कल्पनाले बताइन् । बिरामीको अवस्था गम्भीर भएपछि शल्यक्रिया गरिएको भन्दै यसको जिम्मेवारी अस्पतालले लिनुपर्ने शव नउठाउने चेतावनी दिइन् । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको बताइएको छ।