कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जारी एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध शतक बनाउने र चार विकेट लिने नेपाली खेलाडीलाई जनही १ लाख पुरस्कार घोषणा गरेको छ । मंगलबार नगर प्रमुखस्तरीय निर्णयअनुसार खेलाडीको हौसला स्वरूप यस्तो घोषणा गरिएको नगरपालिकाले जनाएको हो ।
नेपाल र भारतबीचको खेल दिउँसो ३ः१५ देखि श्रीलंकाको पल्लेकेले क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपालले पहिलोपटक भारतविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको हार बेहोरेको थियो । भारतले भने पाकिस्तानसँगको खेलमा वर्षा बाधक बन्दा अंक बाँडेको थियो । सुपर फोरमा स्थान बनाउन नेपालले खेल जित्नैपर्ने हुन्छ । यदि वर्षाका कारण खेल रद्द भएमा समूह ‘ए’ बाट पाकिस्तानसँग भारतले सुपर फोरको यात्रा गर्नेछ ।