कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको तालाबन्दी डेढ महिनापछि खुलेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसंघ)ले राजनीतिक भागबन्डा अन्त्य गर्नु पर्ने माग राख्दै १ साउनदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो।
सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनबीच छलफलपछि तालाबन्दी खोलिएको बताए। उनले विद्यार्थी संगठनले उठाएका माग सम्बोधनका लागि विश्वविद्यालय सधैं तयार भएको र तालाबन्दीले विश्विद्यालयका कामकाज प्रभावित हुने अवस्था आएकाले छलफल गरी तालाबन्दी गरिएको हो। विश्वविद्यालयले असार अन्तिम साता विभागीय प्रमुख र क्याम्पस प्रमुखहरुको नियुक्ति गरेपछि राप्रविसंले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेको थियो।
संगठनले नियुक्ति खारेज नभएसम्म तालाबन्दी नखोलिने चेतवानी दिएको थियो। तालाबन्दीको ३६ औं दिनमा गरिएको पत्रकार सम्मेलनमा संगठनले भदौ १० गतेपछि आन्दोलनको स्वरुप फेरिने जानकारी दिएको थियो । विश्वविद्यालयका पदाधिकारीसित छलफलमा पनि विद्यार्थी संगठनका प्रतिनिधिले लामो समयको तालाबन्दीले विश्वविद्यालयका कामकाजमा बाधा पर्ने भएकाले आफूहरु आन्दोलनको स्वरुप फेरेर तालाबन्दी खोल्न सहमत भएको धारणा राखेका थिए। विश्वविद्यालयका रजिष्ट्रार पाठकले भने विभागीय नियुक्ति र क्याम्पस प्रमुख नियुक्ति खारेज हुन नसक्ने बताए । ‘यो नियुक्ति भई सकेको विषय हो, यसमा पछाडि फर्कन सक्ने अवस्था छैन’ उनले भने।
विश्वद्यिालयका रजिष्ट्रार पाठकले यस अघि पनि तालाबन्दी खोल्नका लागि विद्यार्थी संगठनसित छलफल गरेका थिए। डेढ महिनासम्म तालाबन्दीले विश्वविद्यालयको कामकाज प्रभावित भएको थियो ।राप्रविसंले ताला खोलिए पनि केन्द्रीय क्याम्पसमा सत्तारुढ नेकपा एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियुको तालाबनदी यथावत छ ।अनेरास्ववियूका नेताहरुले विश्वविद्यालय प्रशासनले अहिलेसम्म आफूहरुलाई वार्ताका लागि नबोलाएको बताएका छन्। अनेरास्ववियुले परीक्षा नियन्त्रण कार्यालयमा लगाएको ताला विद्यार्थीहरुले तोडि दिएका छन्।