धनगढी : सुदूरपश्चिम प्रदेशका तत्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादूर सिहंको सडक दुर्घटनामा परी मृत्यु भएपछि खाली रहेको बझाङ प्रदेशसभा १ मा उप निर्वाचनको तयारी थालिएको छ । निर्वाचन आयोगले रिक्त रहेको सो क्षेत्रमा निर्वाचन गराउने विषयमा छलफल थालेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रदेशमा रिक्त रहेको सो पदका लागि आगामी मङ्सिरमा निर्वाचन गराउने तयारी छ। स्व.मन्त्री सिहंको क्षेत्रमा गर्नुपर्ने चुनावबारे आयोगले चासो राखेको छ। त्यसको निम्ति बजेट र समयको जोहो गर्नुपर्ने देखिएको छ।
उप निर्वाचनका लागी एक करोड बढी रकम आवश्यक पर्ने देखिएको छ । आयोगका अनुसार बजेट संगै प्रदेशभरको मतदाताको नामावली तयार गर्नुपर्ने हुन्छ। प्रदेशभरको मतदाता उम्मेदवार बन्न पाउने भएकाले त्यो बाध्यतामा आयोगसँग छ। सत्ता गठबन्धनबाट काँग्रेसका सिंह गत आमनिर्वाचनमा विजयी भएका थिए। आगामी मङ्सिरमा नै उपनिर्वाचन गर्नेगरी आयोगले तयारी थालेको छ। बझाङमा भएको गाडी दुर्घटनामा कानुनमन्त्री सिंहसहित तीनजनाको निधन भएको थियो। असार ५ गते भएको दुर्घटनामा मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको निधन भएको थियो।
डडेल्धुराबाट गृहजिल्ला बझाङको चैनपुर जाँदै गरेको मन्त्रीसवार सुदूरपश्चिम प्रदेश ००१ झ ४८० नम्बरको गाडी जयपृथ्वी राजमार्गअन्तर्गत केरास्युँ गाउँपालिका–१ झारछडामा दुर्घटनामा परेको थियो। गाडी सडकबाट करिब ५० मिटर तल कालङा नदीको किनारमा खसेको थियो। गत ६ जेठमा आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएपछि पहिलोपटक गृहजिल्ला जान लागेका मन्त्री सिंहले घर नपुग्दै ज्यान गुमाउन पुगेका थिए।