बैतडी। बैतडीमा पर्यावरणीय अध्ययन नगरेर जथाभाबी सडक निर्माण गर्दा ५७७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको पाइएको छ।
जिल्लाका स्थानीय तहले पर्यावरणीय अध्ययन नगरेर जथाभाबी सडक निर्माण गरिएपछि ४६७ हेक्टर वन सखाप पारिएको र सडक किनारमा घरटहरा ११० हेक्टर गरी ५७७ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ।
डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले अतिक्रमण भएका ठाउँमध्ये मेलौली नगरपालिकामा २७ वटा घरटहरा हटाएर ३० हेक्टर वन क्षेत्र खाली गरिएको र पुरचौडी नगरपालिकाको गिरिजाबगर, सिगास गाउँपालिका-१, जुकेपानी तथा गर्जेमा वन क्षेत्र अतिक्रमण हटाउने प्रयास भइरहेको बताए। लौठ सल्ला रहेको वसन्त हरियाली वन क्षेत्रको तीन ठाउँमा वन अतिक्रमण भएको पाइएको छ ।
यस्तै स्थानीय तहले जथाभाबी सडक खन्दा वन क्षेत्र मासिन थालेपछि पुरचौडी नगरपालिका-६, ढोल्यामोड नजिकको लौठ सल्ला रहेको चार हेक्टर वन क्षेत्रमा तारबार गर्ने गरेका छन् । ग्वाल्लेक र सिगास संरक्षित वनमा सबैभन्दा बढी लौठ सल्ला छन् । लौठ सल्लाको पात, बोक्रा र जरा प्रशोधन गरी क्यान्सर रोग निको पार्ने बहुमूल्य औषधी उत्पादनमा प्रयोग हुने गरेको छ। क्यान्सर रोग निको पार्ने ‘ट्याक्सोल’ नामको रासायनिक तत्व निकालिने गरेको विज्ञहरूले बताएका छन् ।
यो रसायन पाठेघर, फोक्सो, स्तन, टाउको, प्रोस्टेट, छाला र अन्ननलीको क्यान्सर निको पार्न प्रयोगमा रहेको निकै महँगो औषधी रहेको बताइएको छ । लौठ सल्ला जोगाउन वनस्पति अनुसन्धान केन्द्र कैलाली र डिभिजन वन कार्यालय बैतडीले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको डिभिजन वन प्रमुख कँडेलको भनाई छ। पुरचौडी नगरपालिका र सुर्नया गाउँपालिकाको सिमानामा रहेको वसन्त हरियाली वन क्षेत्रमा तारबार गरिएको छ। डिभिजन वन कार्यालय बैतडीले जिपिएस माध्यमबाट लिइएको तथ्याङ्क अनुसार दशरथचन्द नगरपालिका-९, ग्वाल्लेक संरक्षित वनको गिवाखोला वन र सिगास संरक्षित वनको गर्जेमा वन अतिक्रमण भएको जनाएको छ ।
सिगास संरक्षित वनको गर्जेमा २० स्थानमा वन अतिक्रमण भएको हो । संरक्षित वनबाहेक दशरथचन्द नगरपालिका–१, मुस्याचोर बजार क्षेत्रमा वन अतिक्रमण गरी सात वटा घर बनेका छन् । त्यस्तै सुर्नया गाउँपालिका–८, ढोल्यामोड र पुरचौडी नगरपालिका–६, स्थित लौठ सल्लाको वन अतिक्रमण गरी ११ वटा घरटहरा बनाइएका छन्। पुरचौडी नगरपालिका-७, रुइनचौड र बडगाउँमा वन अतिक्रमण गरी १८ वटा घरटहरा बनेका छन् । डिभिजन वन कार्यालय बैतडीले पुरचौडी नगरपालिका-७ कै गिरिजा बगरमा वन क्षेत्र अतिक्रमण गरी बसपार्क निर्माण गरिएको छ । सिगास गाउँपालिका–१, विन्द्रावन र जुकेपानीमा सामुदायिक वन अतिक्रमण गरी घरटहरा निर्माण भएको बताएको छ ।