धनगढी। धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा एक जनामा हैजाको संक्रमण भएको फेला परेको छ। भदौ १० गते प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा चेकजाँच गर्दा ३४ वर्षीया एक महिलामा सो संक्रमण देखिएको हो।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजबिक्रम शाहीले गौरिगङ्गा नगरपालिका-११ मसुरियाकी एक ३४ वर्षीया महिलामा सो संक्रमण देखिएको बताए । उनले ती महिला भदौ ५ गते भारतको दिल्लीबाट कैलाली आएको जानकारी दिए। दिल्लीबाट आएकी उनको स्वास्थ्यमा समस्या आएपछि स्थानीय स्वास्थ्य चौकीमा गएकी उनलाई चिकित्सकले संकास्पद ठानेर सेती प्रादेशिक अस्पतालमा पठाएको थियो।
भदौ ९ गते सेतीमा चेकजाँचका क्रममा उनमा हैजाको संक्रमण फेला परेको बताइएको छ। हाल धनगढीकै मायामेट्रो अस्पतालमा उपचार गराइरहेकी उनलाई हिजोसम्म आइसियुमा र आज देखी नर्मल वार्डमा राखेर उपचार भैरहेको छ। कैलालीमा लामोसमयपछि पहिलोपटक हैजाको संक्रमण देखिएको हो। हैजा अर्थात् कोलेरा भाईब्रो कोलेरा “Vibrio cholerae” भन्ने जीवाणुको सङ्क्रमणका कारणले हैजा लाग्ने गर्दछ। हैजा एक आत्याधिक चाडोँ सर्ने रोग हो।
विशेषत, फोहोर पानी तथा फोहोर खानेकुरामा हैजाको जीवाणु पाइन्छ। हैजाको जीवाणु मानिसको शरिरमा छिरेको १२ घण्टा देखि ५ दिनमा हैजाको लक्षण देखिन थाल्छ। यस रोगका बिरामीले समयमै उपचार नपाए मृत्यु हुने सम्भावना बढी हुन्छ ।हैजा एकदमै संक्रामक रोग हो जसले तुरुन्तै पखाला निम्त्याउँछ। यसले गर्दा शरीरबाट तरल पदार्थ र इलेक्ट्रोलाइट्स (खनिज पदार्थ) को धेरै क्षति हुन्छ। हैजाको संक्रमणको मुख्य स्रोत दूषित पानी हो । यदि हामीले हैजाको ब्याक्टेरियाबाट दूषित पानी वा खानेकुरा खायौ भने हामी हैजाको जोखिममा पर्न सक्छौँ ।विशेष गरी महामारीको बेला हैजा रोगबाट संक्रमित व्यक्तिको दिसाले, पानी वा भोजन दूषित भएको छ भने हैजाको संक्रमण बढ्न सक्छ ।फोहोर र पिउने पानी तथा अपर्याप्त उपचार भएका क्षेत्रहरूमा यो रोग तीव्र गतिमा फैलिन सक्छ ।