बाजुरा। बाजुरामा अक्सिजन अभाव भएपछि दुई जनाको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। बाजुरा बडिमालिकाको दर्शन गर्न गएका दुई जना अक्सिजन अभावका कारण बिरामी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण कालिकोट कलापा गाउँपालिका-१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङको जयपृथ्वी नगरपालिका-९ की करिब ७० वर्षीया झुपु धामी लडेर घाइते भएका थिए।बडीमालिकाको दर्शनका लागि गएका उक्त तिर्थयात्री सोमबार दिउँसो २ः४५ बजे त्रिवेणी पाटनस्थित खोलामा बेहोस अवस्थामा भेटिएको र न्यौपानेलाई दुर्गाभञ्जन गुल्मले त्रिवेणीमा सञ्चालन गरेको मेडिकल क्याम्पमा ल्याई अक्सिजनसहित प्राथमिक उपचारपछि आज उद्धार गरेर सुर्खेत लगिएको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएको छ ।
घाइते भएर बेहोस भएका न्यौपाने बर्वराउने र बेला बेलामा बोल्ने गरेकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए। मङ्गलबार नेपाली सेनाको एनए ०६१ बेल को हेलिकोप्टरबाट दुई जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए। लडेर घाइते भएका न्यौपानेको टाउकोमा गम्भीर चोट लागेकाले अवस्था चिन्ताजनक छ भने धामीको अवस्था सामान्य रहेको र उपचारपछि निको भएर फर्काइएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।