धनगढी : पत्थरीको अप्रेशनको क्रममा मृगौलाको नसा काटिएर उच्च रक्तश्रावपछि बेलौरीका ऐनलालले मृत्युवरण गर्नुपरेको अस्पताले दर्ता प्रक्रिया पुरा नगरेको पाइएको छ । आइतबार कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अपरेशनका क्रममा धनगढीको स्वस्तिक अस्पतालमा मृत्यु भएको थियो । अप्रशेनका क्रममा मृगौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव भएपछि डाक्टरले फेरि अपरेशन गरेर बायाँ मृगौला नै झिकिदिएका थिए ।
चौधरीको मृत्युपछि अस्पताल र चिकित्सक बिरुद्ध नाराबाजी सहित आफन्तहरु प्रदर्शनमा उत्रेका थिए । उपचारमा संलग्न डा. लाई कार्वाही संगै उचित क्षतीपुती माग गर्दै आन्दोलनमा उत्रेका आफन्तहरु र अस्पताल प्रशासन बीच तीन बुँदे सहमति भएको मृतकका भतिजा राजकुमार चौधरीले बताए । उनका अनुसार एमबीबीएस अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च अस्पतालले ब्यहोर्ने, मृतकका २ छोरीहरुको विवाह खर्च ब्यहोर्ने र उपचारमा लापरबाही गर्ने डाक्टर जोनेस तिवारीलाई कारबाही गर्ने सहमति भएको छ ।
हालसम्म दर्ता प्रमाणपत्र प्राप्त नगरेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल प्रालिमा उक्त घटना भएको हो । यसैबीच, उक्त अस्पतालले हालसम्म दर्ता प्रमाणपत्र प्राप्त नगरेको बुझिएको छ । अस्पतालले २५ शय्या दर्ताका लागि स्वास्थ्य निर्देशनालयमा कागजात पेश गरेको तर अनुमति भने पाइसकेको छैन ।
यसका लागि केही कागजात नपुगेको निर्देशक डा। जगदीश जोशीले नै स्वीकार गरेका छन् । ‘हामीकहाँ डकुमेन्ट आएको छ, केही कागजात अपुग भएकाले अध्ययनकै प्रकृयामै छौं,’ उनले भने । अस्पतालका अध्यक्ष महेश जोशीले भने दर्ता रहेको दाबी गरेका छन् । अस्पतालले ०७९ माघ देखि नै सेवा सुरु गरेको हो ।
कान्तिपुरबाट