बझाङ। बझाङमा आमाछोरालाई खुकुरी प्रहार गर्ने ब्यक्ती कैलालीबाट पक्राउ परेका छन्। बझाङ सदरमुकाम चैनपुरको प्रशासन रोडस्थित चौगाउँटोलमा भएको उक्त घटनामा तीन जना घाइते भएका थिए । गत मंगलबार राति सुतिरहेका आमाछोरामाथि खुकुरी प्रहार भएको थियो ।
घटनामा संलग्न कैलाली जिल्ला कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका उनले प्रहार गरेको खुकुरी प्रहारबाट चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय आदित्य र ४ वर्षीय एबल विक घाइते भएका थिए ।चौधरीले अपराधमा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन । राति १२ बजेतिर अनुहार मास्कले ढाकेर लुटपाट गर्ने उद्धेश्यले कोठाभित्र छिरेको र मान्छेले आफू पसेको थाहा पाएपछि खुकुरी प्रहार गरेको चौधरीले प्रहरीसमक्ष बताएका छन् । उनलाई कैलालीस्थित उनकै घरबाट पक्राउ गरिएको हो । ‘घटना भएपछि त्यो ठाउँ छोडेर गएका मानिस र उसले लुटेर लगेको मोबाइललाई ट्य्राक गरेर अभियुक्त पक्राउ गर्न सफल भएका बझाङ जिल्लाका प्रहरी प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए । ‘उसले अपराध पनि स्वीकार गरिसकेको उनले बताए । खुकुरी प्रहारबाट घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । खुकुरी प्रहारबाट आमाको घाँटी र छातीमा चोट लागेको छ। बच्चाहरूको अनुहार, छाती, घाँटी र पिठ्यूँमा चोट लागेको छ ।