धनगढी : उपचारका क्रममा धानगढीको एक अस्पतालमा बिरामीको मृत्यु भएको छ । धनगढीको स्वस्तिक अस्पतालमा एक बिरामीको मृत्यु भएको हो । उपचारका लागी स्वस्तिक अस्पताल पुगेका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको अस्पतालमा मृत्यु भएको हो ।
पत्थरीका विरामी रहेका उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । चौधरीका भतिजा राजकुमार चौधरीका अनुसार दुबै किड्नीमा पत्थरीले गर्दा समस्या आएपछि भदौ ९ गते शनिबार उनलाई बिहान अस्पताल भर्ना गरिएको थियो । उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरी थिए भने दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी थियो । अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ किड्नीको पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिक्दा अत्याधिक रक्तश्राव भइ बिरामीको मृत्यु भएको जनाए ।
उनले भने, ‘सबै परीक्षणपछि सवा १ बजे अप्र्रेसनको लागि अप्रेसन थेटर लगियो । सुरुमा अप्रेसन सफल भयो भनियो । हामीमा खुशीको सीमा थिएन । तर जब साँझ ७ बज्यो बिरामी बेहोस भए । उनको पेट पुरै फुल्यो । बुझ्दा किड्नीको नशा काटिएर रक्तश्राव भएछ । पछि पुनः डाक्टरले अप्रेसन गरे र किड्नी नै झिकिदिए । बिरामीको अवस्था झन बिग्रियो । त्यसपछि डाक्टरले अब सकिँदैन भनेर निस्किए ।’
अस्पतालका अध्यक्ष महेश जोशीले अप्रेसनका क्रममा मृत्यु हुनुको कारण अहिलेनै भन्न नसकिने बताए । उनले भने –‘उपचारका क्रममा विरामीको मृत्यु हुनुको कारणबारे चिकित्सकसंग आधिकारिक जानकारी नआएसम्म केही भन्न सकिदैन् ।’ बिरामीका आफन्तले डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएकोले सत्य तथ्य छानविन गरी डाक्टरलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।