धनगढी। धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै तनाव भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ४० वर्षीय अरूणकुमार रानाको डाक्टरको लापरवाहीका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।
सोमबार दिउँसो घरमा बेहोस् भएर उपचारका लागि ल्याइएका अरूणकुमारको मृत्यु लापरवाहीले भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका हुन् ।मृतककी भतिजी सोनियम रानाले बेला–बेला मिर्गी हुने समस्या भएकाले अस्पतालमा ल्याइएको र आकस्मिक कक्ष लगिएका अरुणलाई डाक्टरले ओपिडी कक्षमा पठाएकोमा एक घण्टासम्म नआएपछि मृत्यु भएको बताइन्।
उनले १२ बजेतिर अंकल एक्कासी ढलेर बेहोसपछि अस्पताल ल्याएको र ईमरजेन्सी कक्षमा लगीएपछि टिकट काटेर ओपीडी चेकजाँच गर्ने ठाउँमा लैजान भनेको बताइन् । त्यसपछि एक घण्टासम्म डाक्टर नआएको र फेरी दुई बजेतिर बेहोस् भएर अंकलको मृत्यु भएको बताइन्। मृतककी दिदी समेत रहेकी पूर्व प्रदेशसभा सदस्य मालामती रानाले डाक्टरको लापरवाहीको कारण भाइको मृत्यु भएको भन्दै घटनाको छानबिन गरेर कारवाही नहुँदासम्म शव नउठाउने बताइन् ।
उनले सेती अस्पतालमा जहिल्यै पनी लापरवाही हुने गरेको बताउँदै डाक्टरको लापरवाहीका कारण मैले पनि आफ्नो भाइ गुमाएको बताइन्। घटनाको छानबिन गरी दोषीलाई कारवाही नभएसम्म शव नउठाउने उनले भनिन् । यता प्रादेशिक अस्पताल मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले रानाको मृत्यु घटनाबारे बुझिरहेको बताए। के भएको हो त्यसपछि मात्रै थाहा हुने उनले बताए ।घटनाबारे बुझेर मात्रै आधिकारीक प्रतिक्रिया दिने बताए।