धनगढी। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशी चयन भएका छन्। शनिवार धनगढीमा सम्पन्न संघको दोश्रो साधारणसभाबाट जोशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।
लामो समयदेखि क्रिकेट गतिविधिमा सकृय जोशी पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमको छनोट समिति सदस्यमा रहेका थिए। जोशी डडेलधुराबाट जिल्ला प्रतिनिधि भएर अध्यक्षमा चयन भएका हुन्। त्यस्तै उपाध्यक्षमा रमेश बहादुर बोहरा बैतडी, सचीव लक्ष्मण दत्त भट्ट कंचनपुर, कोषाध्यक्ष दिनेश सिंह डोटी, सदस्यहरुमा हरी रेग्मी कैलाली, शेर सिंह खत्री बैतडी, तेज कार्की दार्चुला,
अनिल कुँवर अछाम, माया रावत साउँद महिला सदस्य कंचनपुर, रमेश बहादुर चन्द डोटी, जोग बहादुर दौल्याय बझाङ्ग, बाबुराजा श्रेष्ठ कैलाली र आशिष कुमार खत्री कंचनपुर निर्विरोध निर्वाचित भएका हुन। क्यानको आगामी असोजमा हुन गैरहेको केन्द्रिय अधिवेशनका लागि अहिले जिल्ला तह हुँदै प्रदेश अधिवेशनहरु भैरहेका छन्।
साधारणसभामा बोल्दै अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवाले नेपाली क्रिकेटलाई माथी पु¥याउन भारतसँग सहकार्य गर्नुपर्ने बताए। उनले विश्वक्रिकेटको सबभन्दा धनी संस्था बिसिसीआई भएकोले उसँग छलफल अगाडि बढाएर नेपाली क्रिकेटलाई सहयोग गर्न आग्रह गर्नुपर्ने बताए। मन्त्री देउवाले फाप्ला मैदान बनाउन आफ्नो तर्फबाट विभिन्न तह र तप्लासँग कुरा चलिरहेको र खेलग्राम समितिका अध्यक्ष सुवास शाहिसँग पनि नियमित सम्पर्कमा रहेकाले छिट्टै सकारात्मक परिणाम आउने बताएका छन्।