बाजुरा। बाजुरामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन्। शनिबार विहान जंगली भालुको आक्रमणबाट बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ७ झालीकी २७ वर्षीया सुनिता कटुवाल घाइते भएकी हुन्।
स्थानीय खडक विष्टका अनुसार घर नजिकै रहेको मकैबारीमा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला लुकेर बसेको जंगली भालुले महिलालाई आक्रमण गरेको हो।भालुको आक्रमणबाट घाइते भएकी कटुवालको खट्टा र अन्य शरिरमा चोट लागेको छ। स्थानीय झाली आधारभूत स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि एम्बुलेन्समा अछामको बयालपाटा अस्पतालमा लगिएको छ।
जंगली भालुको आक्रमणमा परी घाइते भएकी महिलाको अवस्था भने खतरामुक्त अर्थात मध्यमखालको रहेको बताइएको छ।बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा वर्षेनी भालुको आक्रमणका कारण स्थानीयहरु घाइते हुने गरेका छन्। जंगल र झारी भएका कारण भालु लुकेर बसीरहने र मान्छे आएपछि आक्रमण गरी घाइते बनाउने गरेकोपछि स्थानीय त्रसित बन्न थालेका छन्।