डोल्पा। डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाद्वारा सामूहिक रुपमा बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ। डोल्पाका प्रहरी प्रमुख शिव बुढाथोकीले उजुरी आएसँगै तीन जनालाई पक्राउ गरिसकिएको जानकारी दिए।
डोल्पाको जगदुल्ला गाउँपालिका वडा नं ६ बस्ने बालिकामाथि स्थानीय युवाहरूले पटक पटक बलात्कार गरेको किटानी जाहेरी परिवारबाट प्रहरीमा दिइएको छ। घटना करिब ६ महिना अगाडिको हो । ‘बालिकाको पेटमा गर्भ रहेको रहेछ,’ उनले भने,‘ बच्चा हुर्किँदै गएको परिवारले थाहा पाएपछि आफन्तले किटानी जाहेरी दिनुभएको छ।’ जगदुल्ला गाउँपालिकामा ९ जनाले सामूहिक रुपमा बलात्कार गरेको उजुरी आएसँगै अनुसन्धानको प्रक्रिया अघि बढाइएको डोल्पाका प्रहरी प्रमुख बुढाथोकीले बताए।
एक जनालाई मुगुबाट पक्राउ गरिएको र दुई जनालाई जुम्लाबाट पक्राउ गरिएको छ। फरार रहेका बाँकी ६ जनालाई पनि खोज्ने क्रम जारी रहेको उनले बताए। पक्राउ परेकाको नाम भने प्रहरीले गोप्य राखेको छ ।बलात्कार भएकी बालिकाको पेटमा छ महिनाको गर्भ रहेको खुलेको छ। गर्भवती भएकी नाबालिकालाई हेरचाह केन्द्रमा स्थानान्तरण गर्नको लागि कर्णाली प्रदेश सुर्खेतमा समन्वय भइरहेको प्रहरीले जनाएको छ। पीडित बालिकाको परिवार निम्न वर्गको भएकाले गाउँमै घटना मिलाउन दबाब दिइएको थियो। पछि बालिका गर्भवती भएको थाहा भएपछि मात्रै घटना बाहिरिएको प्रहरीको भनाइ छ। बलात्कृत बालिका कक्षा ७ मा अध्ययनरत छिन्।