धनगढी। सुदूरपश्चिममा डेंगुको संक्रमण बढ्दै गएको छ। बर्खायामसँगै सुदूरपश्चिमका जिल्लाहरुमा डेंगीको संक्रमण बढन थालेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा १४ जना डेंगुका संक्रमित फेला परेका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार नौ वटा जिल्लामा फैलिएको डेंगुका कारण संक्रमित हुनेको संख्या बढीरहेको हो । पछिल्लो २४ घण्टामा १४ जना संक्रमित फेला परेसंगै प्रदेशमा डेंगु संक्रमित हुनेको संख्या चार सय ६५ पुगेको छ ।
सुदूरपश्चिम प्रदेश डेंगु संक्रमित हुने संख्यामा तेस्रो भएपनि प्रदेशको एक जिल्ला डेंगु संक्रमित देखिनेमा १० स्थानभित्र रहेको छ । सुदूरपश्चिम प्रदेशको दार्चुलामा डेंगु संक्रमित देखिनेमा देशभरमा १० स्थानभित्र रहेको छ । प्रदेशको दार्चुलामा सन २०२३ शुक्रबारसम्ममा डेंगु संक्रमितको संख्या एक सय ९४ पुगेको छ । त्यसपछि डेंगु संक्रमित बढी हुनेमा प्रदेशको दोस्रो स्थानमा कञ्चनपुर रहेको छ । वर्षा शुरु भएसंगै क्रमिक रुपमा प्रदेशका तराई जिल्लामा डेंगु संक्रमण फैलने क्रम जारी रहेको छ ।
तराई जिल्लामा डेंगु फैलाउने लाभ्रा खोज तथा नष्ट अभियान संचालन गरिएपनि संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ । प्रदेशको कैलालीमा सन २०२३ को जनावरीदेखि जुनसम्म १० जनामा संक्रमण देखिएकोमा जुलाईमा १६ र अगस्टमा ५२ जनमा संक्रमण देखिएसंगै संक्रमितको संख्या ७८ पुगेको छ भने कञ्चनपुरमा जुनसम्म ३४ जनामा देखिएकोमा जुलाईमा २३ र अगस्टमा २८ जना गरि ८५ जनामा डेंगु संक्रमण देखिएको छ ।डेंगु संक्रमण क्रमिक रुपमा पहाडी तथा हिमाली जिल्लामा पनि बढ्ने क्रम जारी रहेको छ ।
हिमाली जिल्ला दार्चुलामा जुनसम्म डेंगु संक्रमित बढ्दै गएपनि अहिले घट्दो क्रममा रहेको छ । जुनसम्म एक सय ८८ जनामा संक्रमण देखिएकोमा जुलाईमा तीन र अगस्टमा ५ गरि एक सय ९४ जनामा डेंगु संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । जुनसम्म बाजुराको चार जनामा डेंगु संक्रमण देखिएकोमा अगस्टमा १४ जनामा संक्रमण देखिएसंगै संक्रमितको संख्या १८ पुगेको छ । हिमाली जिल्ला बझाङमा यस अवधिमा ११ जनामा संक्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी ओम जोशीले जानकारी दिए । पहाडी पाँच जिल्लामा पनि डेंगु संक्रमण फैलने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ । प्रदेशको डोटीमा यस अवधिमा १२, बैतडीमा ६ र अछाममा ५२ जनामा संक्रमण देखिएको छ । एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट मान्छेमा डेंगु रोग लाग्ने गर्दछ । यो प्रजातिको लामखुट्टेले दिउँसोमात्रै मान्छेलाई टोक्ने गरेको जनाइएको छ ।