कैलाली। कैलालीका एक युवक बझाङको सेती नदीमा बेपत्ता भएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुर घर भएका प्रकाश बम बझाङको दुर्गाथली गाउँपालिका–२ मौरीबगरमा मजदुरीको काम गर्दै आएका थिए।
माछा मार्न गएका उनी सेती नदीमा बेपत्ता भएका हुन्। ३० वर्षीय बम शुक्रवार साँझ दुर्गाथलीको मौरीबगर स्थित सेती नदीमा माछा मार्न जाँदा पौडी खेल्ने क्रममा सेती नदीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले उनको खोजतलासका साथै आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
यस्तै एक जना युवकको शव सेती नदीस्थित देउरा बजुवा बगरमा फेला परेको रायल प्रहरी चौकीले जनाएको छ ।उक्त शव बेपत्ता वमको हो वा होइन भन्ने बारेमा पुष्टि गर्न बाँकी रहेको प्रहरीको भनाई छ । अहिले शव पुष्टि गर्न रायल प्रहरी चौकीबाट एक टोली खटिएको छ ।