धनगढी। नागरिकता विधेयक ऐन संशोधन भएर प्रमाणीकरण भएपछि हालसम्म जन्मको आधारमा नागरिकता प्राप्त गरेका छन्। सुदुरपश्चिमको कैलाली, बझाङ,अछाम र दार्चुलाका गरी १ हजार ५३२ जनाले वंशजको नागरिकता प्राप्त गरेका छन्।
नयाँ ऐन लागू भएपछि कैलालीबाट ८९ जनाले नेपाली नागरिकता लिएका हुन्। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार नयाँ नागरिकता ऐनअनुसार कैलालीको सुखडबाट दुई महिला, टीकापुरबाट ८ महिला र २७ पूरुषले नागरिकता लिएका छन्। त्यस्तै धनगढीबाट २० महिला र ३२ जना पुरुषले नयाँ ऐनअनुसार नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
यस्तै बझाङमा १ हजार ४३९, अछाममा ३, दार्चुलामा १ जनाले वंशज नागरिकता प्राप्त गरेका छन्। २०८० जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका थिए । उक्त विधेयक नेपाल राजपत्रमा प्रकाशित भएपछि देशभरका जिल्ला प्रशासन कार्यालयहरूमार्फत जन्मको आधारमा तथा आमाको नामबाट नागरिकता दिने कार्य शुरू भएको थियो । नयाँ कानुनअनुसार विशेष गरी जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तान र बाबुको पहिचान नखुलेका नेपाली आमाबाट जन्मेका सन्तानलाई नेपाली नागरिकता वितरण सुरु गरिएको थियो।
गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाबाट प्राप्त विवरणअनुसार साउन २२ गतेसम्म जन्मको आधारमा वंशजको नागरिकता लिनेको संख्या ४३ हजार ३० जना रहेका छ । साथै आमाको नामबाट ६५ जनाले नागरिकता लिएका छन्। जन्मको आधारमा सबैभन्दा बढी सर्लाहीमा ५ हजार ५२५ जनाले नागरिकता लिएका छन् । यस्तै मोरङमा ५ हजार ४७७, रुपन्देहीमा ४ हजार ८४, पर्सामा ३ हजार ५२१ र सिरहामा ३ हजार ८५ जनाले वंशज नागरिकता प्राप्त गरेका छन्। त्यसैगरी नवलपरासी पश्चिममा २ हजार ८६४, झापामा २ हजार ५८४, महोत्तरीमा २ हजार ३४४, बारामा २ हजार १६९, धनुषामा २ हजार ८४, बाँकेमा २ हजार ४० जनाले जन्मको आधारमा नागरिकता पाएका छन्।
यस्तै कपिलवस्तुमा १ हजार ५५२, प्युठानमा १ हजार ४३९, रौतहटमा १ हजार ३५७, सप्तरीमा ७०३, नवलपरासी सुस्ता पूर्वमा ११६, उदयपुरमा ११२, चितवनमा २९९ जनाले जन्मको आधारमा नागरिकता पाएका छन्। त्यसै गरी इलाममा २९, ललितपुरमा १२, दाङमा ४५, तेह्रथुममा ६, ताप्लेजुङमा ४, धनकुटामा ५, नुवाकोटमा २, पाल्पामा ४, पर्वत,स्याङजामा क्रमशः १/१ जनाले जन्मको आधारमा नागरिकता लिएका छन्। त्यसैगरी आमाको नामबाट उदयपुरमा ९, ताप्लेजुङमा ११, तेह्रथुममा ३, बाग्लुङ र सिन्धुपाल्चोकमा समान ५/५ , रुकुम पश्चिम, रुकुम पूर्व, रसुवा, रामेछाप, स्याङजा र सुर्खेत, पाल्पामा ३ जना, धनकुटामा २, पाँचथर, दोलखा र लमजुङमा क्रमशः १/१ जनाले नागरिकता लिएका छन्।