धनगढी। नागरिक उन्मुक्ति पार्टीभित्रको जिम्मेवारी बाँडफाँडलाई लिएर विवाद उत्कर्षमा पुगेको छ। संसदीय दलको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र कैलाश चौधरीलाई मन्त्री बनाएपछि पार्टीभित्र चर्को असन्तुष्टिसहित विवाद उत्कर्षमा पुगेको हो।
सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका लक्ष्मण किशोर चौधरीले पार्टीको केन्द्रीय उपाध्यक्षलगायतको जिम्मेवारीबाट राजीनामा दिने मनसायमा पुगेको बताएका छन्। पार्टीको मूल्याङ्कन प्रणाली खराब हुँदा आफूमाथि अन्याय भएको भन्दै उनले पार्टी जिम्मेवारीका ती दुवै पदबाट राजीनामा दिन लागेको बताएका छन्। उनले भने, ‘पार्टीमा विधि पद्धतिलाई लत्त्याइन्छ, मर्यादामा रहेको एउटा क्याडरलाई लत्त्याएर कनिष्ठलाई अघि सार्छ भने हामीले गरेको लगानी, त्याग, तपस्याको कदर हुँदैन भने मैले पार्टीको उपाध्यक्ष र सङ्गठन विभाग प्रमुख भएर बस्नुको कुनै औचित्य छैन।
साधारण सदस्य मात्रै भएका माननीयले क्याबिनेट पाउँछन् भने मैले उपाध्यक्ष र सङ्गठन विभाग प्रमुख भएर आफ्नो समय र सम्पत्ति दुरुपयोग गर्नुको औचित्य छैन।’त्यस्तै, उनले आफू पार्टी नेतृत्वलाई गुलामी गर्न नसक्दा र आर्थिक डिमान्ड पूरा गर्न नसक्दा उपेक्षित हुनु परेको समेत आरोप लगाएका छन्। ‘मैलै कसै सामु लम्पसार हुन सकिन। नेतृत्वले चाहेको डिमान्ड पूरा गर्न सकिन । त्यो डिमान्ड अरूले पूरा गरेपछि मलाई पाखा लगाइएको हो’ उनले भने।
यसैबीच पार्टी नेतृत्वप्रति असन्तुष्ट बनेका लक्ष्मण किशोरले सामाजिक सञ्जालमा राखेको धारणालाई लिएर पार्टी नेतृत्वले आफूलाई स्पष्टीकरण सोधेको बताइएका छन् । तर उनले पार्टीलाई विधि पद्धति अनुसार चलाउनुपर्ने र समग्र टीकापुरका जनताको अभिमतलाई कदर गर्दै धारणा राखेको बताएका छन्। उता, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले लक्ष्मण किशोरको राजीनामाले पार्टीलाई कुनै असर नपर्ने बताए।
पार्टीको कुनै विधि र नियमलाई नमानेको र मिडियामा गएर जिम्मेवारीबाट राजीनामा दिने कुरा गरिरहेको बताए। उसो भए पार्टी लाभको पदबाट पनि राजीनामा माग्न सक्छ उनले भने । सबै कुरामा वरिष्ठता लागू नहुने संरक्षक चौधरीको भनाइ छ । उनका अनुसार पार्टीले आवश्यकताको सिद्धान्तका आधारमा निर्णय गरेको हो । ‘संसदीय दलको निर्णयमा मेरो हस्तक्षेप छैन’, चौधरीले भने, ‘संसदीय दलका अन्य छ जनाले गरेको निर्णय भएको बताए।