कञ्चनपुर। कञ्चनपुरबाट एक वर्ष अवधिमा ३ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरीएको छ। सशस्त्र प्रहरी बल, नेपाल ३५ नम्बर शैलेश्वरी गणका अनुसार गत आर्थिक वर्ष २०७९र८० मा उक्त मूख्य बराबरका अवैध सामान बरामद गरीएको हो।
साउनको हालसम्म सशस्त्र प्रहरीले कञ्चनपुरमा भन्सार चोरी-तस्करीका ३० लाखभन्दा बढीका अवैध सामान नियन्त्रण गरेर भन्सार चलान गरेको छ। कञ्चनपुरका विभिन्न खुला नाकासहित भन्सारबाटै चोरी छली गरेर नेपाल भित्र्याइएका अवैध सामान बरामद गरेर सशस्त्र प्रहरीले भन्सारलाई बुझाएसँगै भन्सार राजस्व चुहावट कम भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल ३५ नम्बर शैलेश्वरी गणले गत वर्ष भन्सार चोरी-तस्करीका अवैध सामान बरामद गरेर भन्सार चलान गरेको छ। गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले गणसहित मातहत रहेका बोर्डर आउटपोस्ट (बिओपी)मार्फत भारतबाट चोरी-तस्करी गरेर ल्याएका अवैध सामान बरामद गरेर भन्सार चलान गरिएको बताए। उनका अनुसार भारतबाट भन्सार नकाटेका लत्ताकपडा, हार्डवेयर खेलौना सामग्री, इलेक्ट्रोनिक सामान, मलखाद, वनपैदावार, प्रतिबन्धित माछा, कुखुरासहित तस्करी गर्न प्रयोग भएका मोटरसाइकल, जिपसहितका साधन नियन्त्रणमा लिएर भन्सार चलान गरिएको हो।