दार्चुला। दार्चुलामा लम्पी स्किनले २५ सयभन्दा बढी पशुचौपाया मरेका छन् । दार्चुलाका ९ वटै स्थानीय तहका सबैजसो भेगमा पशुचौपायामा लम्पी स्किन रोगको महामारीले अढाई हजारभन्दा बढी पशुचौपाया मरेका हुन्।
सबै ठाउॅमा गरी ४३ हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किनको संक्रमण रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार लम्पी स्किन रोगबाट हालसम्म २ हजार ५ सय ४० पशुचौपाया मरेका छन्। ४३ हजार ४७७ पशुचौपाया संक्रमित रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख रामबहादुर खड्काले जानकारी दिए ।
महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकालगायतका जिल्लाका सबैजसो स्थानीय तहहरुमा पशुचौपायामा लम्पी स्किनको संक्रमण रहेको किसानहरुले बताए। गाईगोरुमा लम्पी स्किनको संक्रमणबाट मरेपछि अहिले गोठ रित्तिएको ब्यास गाउॅपालिका–५ स्याकुकी मथुरा धामीले बताइन् । ‘घरेलु जडिबुटीको उपचार गरेपनि बचाउन सकिएन्’, उनले भनिन्, ‘लम्पी स्किनले आफ्नो गोठ रित्तिएसँगै छिमेकमा पनि संक्रमण बढेको छ ।’ लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि गोठ नै रित्तिने अवस्था आएको छ।
उक्त रोगका कारण अहिले पशुपालन व्यवसाय नै संकटमा परेको कृषक बताउँछन्। अधिकांश बस्तीका सबैजसो घरधुरीमा पशुचौपाया मरेको पशु प्राविधिकहरु बताउँछन्। पशुचौपायामा ज्वरो आउने, र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षणसहित अन्तमा पशुहरूको मृत्यु हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका पशु विकास अधिकृत डिगम्बर जोशीले बताए। उने लक्षण देखिएका पशुचौपायाहरुलाई छुट्टै ठाउॅमा राखी सरसफाइमा विशेष ध्यान दिई औषधि उपचार गर्न आग्रहसमेत गरे।