बाजुरा। बाजुराको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा जहाज कुर्दाकुर्दै एक बिरामीको मृत्यु भएको छ। उच्च रक्तचापको समस्या जटिल देखिएपछि रिफर गरिएका मुगुका विर्खलाल कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको कार्यालय प्रमुख डाक्टर प्रतिक न्यौपानेले बताए।
कार्कीको थप उपचारका लागि नेपालगञ्ज वा धनगढी मध्ये सिटी स्क्यान सहीतको सुविधा भएको अस्पतालमा रिफर गरिएको थियो।रिफर गरिएका ६० वर्षिया कार्कीलाई आफन्तले जहाज आउने पर्खाइ गरिरहेका थिए। खत्याग गाउँपालिका १ रातापानीका कार्कीलाई रातापानी प्राथमिक स्वास्थ्य केन्द्रले पनि कोल्टीलाई रिफर गरेको थियो। मार्तडी कोल्टी र कर्णाली करिडोरको सडक बाटो बर्षादका कारण बिग्रीएर अवरुद्ध भएपछि आफन्त जहाज कुरि बसेका थिए।
रिफर गरिएको दुई दिनसम्म पनि जहाज नआएपछि आफन्तले हेलिकप्टरको समेत जोहो गर्ने प्रयास गरेका थिए। सडक बाटो सम्भव नभएको, जहाज नआएको र हेलिकप्टर समेत मौसमका कारण नआउने अवस्था भएपछि कार्कीले प्राथमिक स्वास्थ्य केन्द्रमै ज्यान गुमाएका हुन्।‘बिरामी रातापानीबाटै आउन ढिला भइसकेको थियो। उच्च रक्तचाप सहीतको समस्याले मान्छे चिन्न र बोल्न समेत नसक्ने अवस्था भएकोले सिटी स्क्यान नगरि उपचार सम्भव थिएन्, हामीसँग त्यो सुविधा छैन्, हामीले रिफर गर्र्यौ, जहाज आएन्, सडकबाट लिन झन सम्भव नै थिएन्, दुर्भाग्य बचाउन सकिएन,’ डाक्टर प्रतिक न्यौपानेले भने।
तीन महिना यता मात्रै ४ बढीले जहाज कुर्दै र सडकबाटो लैजादै गर्दा ज्यान गुमाएका छन्।‘रिंगाटा लाग्ने, उल्टी हुने, बोल्न नसक्ने र श्वास फर्न समेत गाह्रो हुदै जाने समस्या अरुभन्दा जटिल नै थियो, समयमै जहाज वा हेलिकप्टर आएर लिन सके बच्ने अवस्था भने हुन्थ्यो, त्यो कोल्टीमा समस्या नै छ’, डाक्टर प्रतिकले थपे। डाक्टर प्रतिक आएदेखि नै चार जना बढीले ज्यान गुमाइसकेका छन्। यता नागरिक उड्यन कार्यालय कोल्टीले मौसम खराबीका कारण जहाज नआएको बताएको छ। घाम लागेकै दिन पनि नियमित तालिका मिचेर अर्को ठाउँको उडान भर्ने विमान कम्पनीले यतिबेला मौसमलाई दोष देखाउन झनै सजिलो उपाय बनेको छ। कोल्टीमा जहाज भन्दा पहिला काल आउने गरेकोमा यो पटक पनि दोहोरिएको छ।