कञ्चनपुर। महाकाली नदीमा निर्माण भइरहेको चार लेन पुलमुनिबाट पानी बगाउन बन्दै गरेको मुख्य पोखरी बाँध (गाइड बण्ड)को निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । महाकाली नदीमा चार लेनको पुललाई सुरक्षित बनाउने पोखरी बाँध (गाइड बण्ड) निर्माणको कार्य अन्तिम चरणमा पुगेका हो।
गाइड बण्डभित्र बन्ने चारवटा पोखरीले महाकाली चार लेन पुललाई पर्यटकीय गन्तब्यसमेत बनाउने लक्ष्य लिइएको छ। ती पोखरीमा डुंगा सञ्चालन हुनेछन् भने पोखरीका बीच भागमा कृत्रिम टापु बनाएर रेष्टुराँ पनि चलाइने बताइएको छ। महाकाली चार लेन पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी कमार श्रेष्ठ निर्माण सेवाका इन्जिनियर किशोर पाण्डेले पुलमुनिबाट पानी बगाउन बन्दै गरेको मुख्य पोखरी बाँध (गाइड बण्ड)को निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताए।
नदीको बीच भागमा बनेको चार लेनको पुल रहेको र जसको लम्बाई जम्मा आठ सय मिटर रहेको बताए । झण्डै पाँच सय मिटर पूर्व (भीमदत्त नगरपालिकातर्फ) र करिब तीन सय मिटर पश्चिम (दोधाराचाँदनीतर्फ)को नदीमा नभएकाले पुल जोड्नका लागि नदीमैं भरान गरेर चार लेनकै सडक बनाइएको बताए । उनका अनुसार पुलको दुबैतिरको नदीमा भरान गरेर बनाइएको सडकलाई सुरक्षा दिन सडकको माथिल्लो र तल्लोपट्टी ग्राइभेल, ग्याभिन जाली र कंक्रिट भरिएको बाँध भएका चारवटा पोखरी बनाइएको छ ।
भीमदत्तनगरतिर दुईवटा र दोधारा चाँदनीतर्फ दुईवटा पोखरी बनाउने काम अहिले पनि चलिरहेको छ । यस्तै उनका अनुसार पर्यटन प्रवद्र्धन र महाकाली नदीलाई बीचबाट बगाएर पुलमुनी छिराउने उद्देश्यले ती चारवटा पोखरी बनाइएको हो। पुलको उत्तरपट्टीका पोखरीमा भीमदत्ततर्फ तीनवटा र चाँदनीतर्फ तीनवटा कृत्रिम टापु पनि बनाइँदैछ जहाँ नौका विहार गर्दै पर्यटकहरुले रेष्टुरेन्टको आनन्द पनि लिन सक्नेछन्। भीमदत्ततर्फको उत्तरी पोखरी एक वर्गकिलोमिटरको छ भने चाँदनीतर्फको दशमलव नौ वर्गकिलोमिटरको र दक्षिणतर्फका दुबै पोखरी भने .३ (दशमलब तीन) वर्गकिलोमिटरका छन्।
पोखरी र नदीको बीचको बाँध (गाइड बण्ड)ले नदीको बीचमा बनेको पुल जोड्ने सडकलाई सुरक्षा दिने इन्जिनियर किशोर पाण्डेले बताए। इन्जिनियर पाण्डेले पाँच लाख ८५ हजार क्यूसेक पानी रोक्न सक्ने गरी बाँधको डिजाइन गरिएको छ।महाकाली पुलको सुरुको डिजाइनमा कम्तीमा अढाई सय किलोका ढुंगा र विशेष किसिमको माटोको मिश्रणबाट पोखरीको बाँध बनाउने उल्लेख थियो तर निर्माण कम्पनीले त्यो तौलका ढुंगा नपाएपछि नयाँ डिजाइन गरिएको हो । बाँध ६० प्रतिशत ढुंगा र ४० प्रतिशत कंक्रिट(सिमेन्ट)बाट बन्ने छ।
महाकाली नदीको तीब्रतालाई रोक्न बाँधमा सात सयदेखि दुई हजार सात सय किलोग्राम भार भएका सिमेन्ट ब्लक बाँधको स्लोपमा लगाउने काम भइरहेको छ । बाँधको १२ मिटर उचाईसम्म ती ब्लक लगाइने छन्। अहिले भीमदत्त नगरपालिकाका तर्फको उत्तरी बाँधमा साढे १० मिटरसम्म ब्लक लगाउने काम सकिएको छ भने दोधारा चाँदनीतर्फको उत्तरी बाँधमा जोखिम भएका ठाउँमा ब्लक लगाइएको छ। ठाउँ हेरेर बाँधको उचाई डेढ मिटरदेखि छ मिटरसम्म रहेको छ । जगमा एकदेखि दुई मिटर उचाइको सिमेन्ट कंक्रिट प्रयोग गरिएको छ भने आठदेखि १८ मिटर चौडाई र आठदेखि १८ मिटरकै स्लोपको बाँध बनाइएको इनिजनियर पाण्डेले बताएका छन्।तस्विर: किशोर पाण्डेबाट