बैतडी। बैतडीको सिगास गाउँपालिका –२ स्थित गाँजरी बजारमा अवैध रुपमा सञ्चालन रहेको क्लिनिक सिल गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा गरिएको छड्के अनुगमनमा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो।
यो सँगै अवैध क्लिनिक सञ्चालक खेमराज अवस्थीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिएका छन्। अवस्थीले क्लिनिकका साथै मेडिकल पनि सञ्चालन गरेका थिए। छड्के अनुगमनका क्रममा अवस्थीलाई बिरामी जाँचिरहेका अवस्थामा पक्राउ गरिएको र उक्त पसल सिल समेत गरिएको हो।
खेमराजले २०७१ सालदेखि हिमालय अवस्थीको नामको पान नम्बर लिएको तर मेडिकल र क्लिनिकका लागि अनुमति नै नलिएर सञ्चालन गरिरहेको खुलेको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा गरिएको छड्के अनुगमनमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाही,स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो।