काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि प्रश्न उठेको छ । सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कार्यसमितिमा रहेका व्यक्तिहरूलाई अनुशासन लागु हुन्छ कि हुँदैन ? भनेर प्रश्न गरे ।
उनले महामन्त्रीद्वयलाई लक्षित गर्दै भने, ‘एउटा केन्द्रीय सदस्य, पदाधिकारी र एउटा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेका मानिसहरूको विषयमा अभिव्यक्त गरेका धारणाहरू व्यक्त गर्दै गर्दा के राम्रो गरेको छ ? त्यसैले यहाँ लगाममा धेरै छैन। तथानाम छ जे पायो त्यही गरिएको छ ।’ सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले महामन्त्री थापाले हौसिएर वार्षिक कार्यतालिका ल्याएको र कार्यान्वयनमा अवरोध हुन सक्ने बताए।
‘आर्थिक सुनिश्चितता हुनुपर्ने हो तर यी कार्यक्रम कार्यान्वयनमा अवरोध हुन सक्छ,’ उनले भने।प्रदेशको भूमिकाप्रति कार्ययोजना मौन रहेको उनले बताए। ‘प्रदेशले जिम्मेवारी दिएअनुसार काम गरेनन् कि? त्यस्तो हो भने भन्नुप¥यो,’ उनले भने।उनले भ्रातृ संस्था पार्टीको हतियार भएको बताए। ‘भ्रातृ संस्था हतियार हो। अभियानका रूपमा भ्रातृ संस्थालाई लैजान सकिएन भने संगठन विस्तार जहाँको त्यहीँ हुन्छ।
प्रदेशलाई पनि भ्रातृ संस्था तय गर्ने जिम्मा दिऔं,’ उनले भने, ‘केन्द्रले मात्रै भ्रातृ संस्थामा रहनेको नाम तय गरेर हुँदैन।’उनले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई अनुशासन लाग्छ कि लाग्दैन भन्ने प्रश्न पनि गरेका छन्। ‘एकले अर्काको विरूद्ध अभिव्यक्ति दिँदा त्यसले पार्टीलाई हित गर्छ?,’ उनले भने, ‘बोलीमा लगाम छैन, तथानाम छ। जे पायो त्यही गरिएको छ।’उनले अनुशासनविहीनताले कुनै लक्ष्यमा पुग्न नसकिने बताए।
साथै प्रदेश र केन्द्रमा गठबन्धनको सरकार भए पनि त्यसको अनुभूति जनताले गर्न नपाएको बताए। ‘हाम्रा कारणले उनीहरू मन्त्री भएका हुन् यति हेक्का हुनुपर्ने हो,’ गठबन्धन दलबाट मन्त्री भएकाहरूप्रति लक्षित गर्दै उनले भने।कांग्रेस एकताबद्ध भएर गएमा कुनै पनि शक्तिले पार्टीसँग प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ।पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाबाट पार्टी नचल्ने निष्कर्षसहित महामन्त्रीद्वयले नेतृत्व परिवर्तनको एजेण्डा उठाउँदै आइरहेका छन् ।