बझाङ। बझाङमा नुन पाउनका लागि स्थानीयले सास्ती भोग्नु परेको छ। असार सकिएपछि नुन लिनका लागि जिल्लाका विभिन्न ठाउँहरुबाट नुन लिन मानिसहरु चैनपुर पुग्छन्। बझाङको डिपोबाट आइतबार मात्रै सहुलियतको नुन बिक्री वितरण गरिन्छ।
नुन वितरणमा दुरूपयोग भएको गुनासो आएपछि साताको एक दिन आइतबार मात्रै नुनको बिक्री वितरण गरिन्छ । तर, नुन लिनकै लागि सदरमुकाम चैनपुर आउँदा यातायात र खाजा खर्च जोड्दा टाठाबाट आएकाहरु हरेकको हजारदेखि १ हजार ५ सय रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ। थलारा–४ की ६० वर्षीया एकल महिला धर्मादेवी सिंहसमेत सहुलियतको नुनकै लागि भनेर सदरमुकाम चैनपुर गएकी थिइन्।
बालुवा चालेर र गिट्टी कुटेर जम्मा गरेको सानो रकमले अनुदानमा पाइने नुन किन्ने आशाले चैनपुर पुगेकी उनले पनि ५ केजी मात्रै नुन पाइन्। उनले त्यहाँ नुन वितरण (उपलब्ध)गराउने कर्मचारीलाई २० पोकासम्म दिन बारम्बार अनुरोध गरिन् तर कर्मचारीले मानेनन्। ‘नुन सकिन लागेको छ, अहिले यति लानुस्, यसभन्दा बढी पाइँदैन,’ कर्मचारीको जवाफले उनी निराश बनिन् । सरकारले बझाङका लागि सुरुमा ४ हजार क्विन्टल सहुलियतको नुन उपलब्ध गराएको थियो। त्यसपछि घटाएर ३ हजार क्विन्टलमा झा¥यो। अहिले त्यसबाट पनि घटाएर २ हजार ६ सय क्विन्टल दिने गरेको छ।
डिपोसँग अहिले जम्मा २ सय ८२ क्विन्टल ५० किलो मात्रै नुन मौज्दात छ । गत आइतबार मात्रै ६३ क्विन्टल ५० किलो बिक्री भएको थियो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले थप नुन आवश्यक परेको भन्दै तालुक निकायसम्म कोटा माग गरेर निर्णयसहित पत्रचार गरिएको बताए । यहाँका बासिन्दाले अनुदानमा आएको आयोडिनयुक्त नुन पशुचौपायालाई दिने, एकै व्यक्तिले पटकपटक लिने, आफन्त बाहिरी जिल्लामा छन् भने अनुदानमा नुन किनेर पठाउनेजस्ता गुनासा आएपछि साताको एक दिन आइतबार मात्रै नुन बिक्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । उनले एक परिवारलाई ५ किलो मात्रै उपलब्ध गराउने निर्णय प्रशासनले गरेको पनि बताए । चैनपुरका लागि ७ हजार, बागथलाका लागि ५ हजार तलकोटका लागि १ हजार ५ सय र काँडा बिक्री केन्द्रका लागि ७ सय क्विन्टल गरेर १४ हजार २ सय क्विन्टल नुन माग गरिएको पनि उनले बताए ।