काठमाडौं। भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ। निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ।
अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ। भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ।आइओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने निगमको तयारी छ। त्यसपछि मात्रै देशभरको इन्धनको नयाँ मूल्य तय हुन्छ।
निगम सञ्चालक समिति बैठक आइतबार बस्दैछ। पछिल्लो पटक गत १८ असारमा निगमले इन्धनको मूल्य समायोजन गरेको थियो। जसअनुसार पेट्रोलको मूल्य काठमाडौं उपत्यका क्षेत्रमा प्रतिलिटर १६७.५० पैसा, डिजेल र मटीतेलको १४७ रुपैयाँ ५० पैसा तोकिएको छ। यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ १३६ रुपैयाँ प्रतिलिटर छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०५० अमेरिकी डलर तोकिएको छ।