धनगढी : बैतडीको सुर्नया गाउँपालिकामा जनप्रतिनिधी र स्थानियबिच कुटाकुट भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य कर्ण बहादूर बिष्ट र स्थानिय बिच कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सुर्नया गाउँपालिकाको वडा नं ५ रडीगाउँमा योजनाको हिसाबका बिषयमा वडा सदस्य बिष्ट र अन्य स्थानीयबीच विवाद भएको देखिएको छ ।
विवादपछि वडा सदस्य बिष्ट हातपात गर्न तम्सिएका भिडियोमा देखिएको छ । उनको यो कार्यशैलीको अहिले व्यापक आलोचना भइरहेको छ । जनप्रतिनिधि नै यसरी कुटपीटमा उत्रिनु नराम्रो भएको भन्दै आलोचना भइरहेको हो ।
महिला समुहबाट निर्माण गरिएको सिँचाइ पोखरी योजनाको बिषयमा विवाद हुँदा वडा सदस्य बिष्ट कुटपिट गर्न उत्रिएका हुन् । उनले अशोभनीय रुपमा गालीगलौज समेत गरेका छन् । सिँचाइ पोखरी योजना निर्माणको साढे चार लाख आफूले वडा सदस्य बिष्टलाई बुझाएको तर आफूहरुको खर्च भएको रकम नदिएको उपभोक्ता समिति अध्यक्ष कलावती बिष्टले आरोप लगाइन् ।
योजनाको हिसाबकिताब माग्दा आफूहरुमाथि वडा सदस्य कुटपीटमा उत्रिएका अध्यक्ष बिष्टले बताइन् । यता वडा सदस्य कर्णबहादुर बिष्टले आफूमाथि हातपात भएको बताएका छन् । आफूमाथि हातपात गरेकाले आफू बाध्य भएर प्रतिकारमा उत्रेको उनले बताए । आफूले प्रहरीचौकीमा निवेदन समेत दिएको वडा सदस्य बिष्टले बताए । आफूले योजनामा कुनै रकम नमागेको उनको दाबी छ ।