धनगढी। सुदुरपश्चिमको आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रदेश सरकार संशोधन बिनै बजेट पारित गराउने तयारीमा लागेको छ। असार १ गते प्रस्तुत गरिएको बजेटमा सत्तारुढदलले सुरु देखी नै असन्तुष्ट जनाउँदै बजेट संशोधन नभएसम्म पास गर्न नदिने अडानकै बिच प्रदेश सरकार बजेट पारित गराउने तयारीमा लागेको आरोप लागेको हो।
सत्तापक्षका दल नेपाली काँग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दल र नागरिक उन्मुक्ति पार्टीले संसद बैठक, केन्द्रीय स्तरकै सत्तापक्ष दलहरुसँग बजेटमाथि असन्तुष्टि जनाउँदै संशोधनको माग राख्दै आएका छन्। पछिल्लो दिनमा प्रदेश सभाको बैठकमा उनीहरुले बजेट पास हुन नदिने स्पष्ट पारेका छन्। नेकपा माओवादीका प्रदेश सभा सदस्य शिवसिंह ओलीले तराइका जिल्लामा बढी बजेट विनियोजन गरेकोमा असन्तुष्ट व्यक्त गरेका छन्।
उनले तराइका जिल्लामै विकास चाहिने भए भबिश्यमा पहाडी जिल्लाका मानिस बसाई सरेर तराइ गरेर आउँदा जिम्मा कस्ले लिने भन्दै प्रश्न गरे। निर्वाचन क्षेत्रमा उद्योग खोल्ने भनेको छ तर बजेट अपुरो रहेको उनले भने। नेपाली काँग्रेस नेतृत्वमा रहेको मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश शाहीको क्षेत्रमा बढी बजेट विनियोजन भएकोमा सत्तापक्ष र प्रतिपक्षि दलहरु असन्तुष्ट बनेका छन्।
नेकपा एमालेकी निर्मलादेवी साउँदले प्रदेश सभा सदस्यहरु असन्तुष्ट भएपनि सत्तापक्षका साँसदले बजेट पारित गराउने मनसायमा रहेको बताइन्। उनले प्रदेश सरकारको बजेट स्थानिय तहको सरकारभन्दा कमजोर बजेट आएको बताईन्। स्थानीय तहले वडा अध्यक्ष र सदस्यलाई सोधेर योजना बनाउँछ तर, प्रदेश सरकारले प्रदेश सभा सदस्यलाई खेलाउना बनाउन खोजेको आरोप लगाइन्। मन्त्रीहरुले आफनो निर्वाचन क्षेत्रमा मात्र बजेट राखेको बताइन्।नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले अहिलेको सरकार बजेटमा अल्पमतमा परेको बताए। उनले बजेटले प्राथमिकताभन्दा बाहिर गएर आएको बताए। प्रदेश सरकारले उचित ढंगले काम नगरेको बताए।
नेपाली काँग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टले प्रदेशको समग्र विकासका लागि बजेटले दिर्घकालिन योजना ल्याउनुपर्ने भएपनी बजेट केही व्यक्तिको योजनालाई ध्यानमा राखेर ल्याइएको बताए। उनले बजेट नीति तथा कार्यक्रमविपरित रहेको बताए। तर प्रदेश सरकार भने बजेट संसोधन नगरी पारित गर्ने तयारीमा छ। सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले बजेटमा असन्तुष्टि रहेपनि बिनासंशोधन पास गरिने परम्परा रहेकोले यसमा संशोधन नहुने बताए ।उनले बजेट पारित हुने तर संशोधन नहुने बताउँदै बजेटमा असन्तुष्टि जनाउनु स्वभाविक प्रक्रिया रहेको बताए। मन्त्री शाहीले सम्भावित श्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको र केही प्रदेश सभा सदस्यहरुका योजना समेट्न नसकिएको स्वीकार गरे। बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँमा सम्बोधन हुने मन्त्री शाहीको भनाई छ।असार १ गते सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आगामी आर्थिक वर्षको २०८०/०८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार को बजेट प्रस्तुत गरेका थिए। असार अन्तिमतिर पुग्दासम्म बजेट पारित हुन सकेको छैन।