काठमाडौं। पछिल्लो तीन दिनमा जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घटेको छ। २५ असारमा किलोमा १० रुपैयाँले घटेको मासुको कोल्ड स्टोर(जिउँदो कुखुरा) मूल्य बुधबार पुनः १० रुपैयाँले सस्तो भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ।
यो मूल्य काठमाडौं उपत्यका र यसका वरपरका क्षेत्रको हो। पछिल्लो पटक मूल्य घटेपछि ब्रोइलर कुखुराको मासुको मूल्य २९० रुपैयाँ कायम भएको संघका सचिव देवकुमार गिरीले जानकारी दिए । यसअघि ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य ३१० रुपैयाँसम्म पुगेको थियो।
ब्रोइलरको कोल्ड स्टोर मूल्य घटेसँगै अब तयारी कुखुराको मासुको मूल्य पनि घट्ने संघले जनाएको छ। अहिले बजारमा ४६० रुपैयाँ प्रतिकिलो सम्ममा तयारी ब्रोइलरको कुखुराको मासुको बिक्री भइरहेको छ ।जिउँदो कुखुराको उत्पादन बढेको र भारतबाट पनि अवैध मात्रामा कुखुरा भित्रिएका कारण मूल्य घटेको संघको दाबी छ। काठमाडौं उपत्यका दैनिक करिब ५ लाख किलो मासुको खपत हुन्छ ।