दार्चुला। भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोल्दा महाकाली नदीमा बाढीको जोखिम बढेको छ।
आज बिहान ५ बजे भारतले बाँध खोलेको हो।
बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। बाँधका ढोका भरेराति ८ बजेसम्म खोलिने भएकाले महाकाली नदीमा बाढी आउने सम्भावना छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न तथा नदी छेउछाउ नजान आग्रह गरेको छ।
राति ८ बजेसम्मको अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र बाढीले सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।
भारतले सफाइको कामका लागि भन्दै परियोजनाको बाँधका ढोका खोल्ने यसअघि नै जानकारी गराएको थियो । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध बर्खाका बेला हरेक वर्ष खोल्ने गरेको छ । २०७० साल असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो।