बैतडी। बैतडी विमानस्थल बाख्रा चराउने स्थल बन्न थालेको छ । जहाज नै नआउने भएपछि विमान स्थल गौचरनमा परिणत हुँदै छ । जिल्लाको पाटनमा रहेको एयरपोर्टमा बाख्रा चरिरहेको तस्बिर अहिले भाइरल बनेको छ ।
करोडौँ लगानिमा विमान स्थल निर्माण भएपनि यहाँँका जनताले सेवा पाएका छैनन् । यात्रु अभावले बैतडीको पाटन–धनगढी उडान डेढ वर्षदेखि ठप्प रहेको छ । पाटनबाट २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो। त्यसयता पाटन–धनगढी कुनै उडान हुन सकेको छैन । यात्रु अभावको कारण देखाउँदै उडान नभरेको समिट एयरले जनाएको छ ।
यात्रु नभएकै कारण समिट एयरले धनगढी-पाटन उडान लगभग स्थगित गरिदिएको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिए। पाटनदेखि धनगढी पुग्न १७ मिनेटको हवाई यात्रा छ । भाडा भने पाँच हजार तोकिएको छ। ११ करोडको लागतमा बैतडी विमानस्थल कालोपत्रे गरेर सञ्चालनमा ल्याइएको भएपनि हवाई उडान भने लामो समयदेखि बन्द रहेको छ। यहाँ हवाई उडान नहुँदा आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा छन्। हवाई उडान नहुँदा आकस्मिकरुपमा बिरामी भएकाहरुलाई सुविधा सम्पन्न अस्पातलमा लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको हो ।