काठमाण्डौँ। एक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको शिव शिखर सहकारीका थप तीनजनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ। रमेश खैजू, शिवप्रसाद पौडेल र रसना शाक्य पक्राउ परेका हुन् ।
खैजू र पौडेल सहकारीको लेखा समिति सदस्य र शाक्य कर्मचारी हुन् । सिआइबीले सहकारीको करिब १४ अर्ब हिनामिनाका नाइके रहेका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई गत साता भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो। भक्तपुरमा केन्द्रीय कार्यालय रही ३६ वटा शाखा रहेको सहकारीले करिब १४ अर्ब निक्षेप हिनामिना गरेको छ। सहकारीको पैसा नियमविपरीत शर्माले आफ्ना निजी कम्पनीमा लगानी गरेर संस्था डुबाएका हुन्।
सहकारीका एक लाखभन्दा धेरै सर्वसाधारणको पैसा डुबेको छ । देशभरि सहकारीविरुद्ध उजुरी परिरहेको छ। शर्माका विभिन्न कम्पनीको नाममा सम्पत्ति रहेको र त्यसलाई रोक्का राखेको सिआइबीले जनाएको छ। उपत्यकाका शाखाको हकमा सिआइबी र उपत्यकाबाहिरको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ। भक्तपुर जिल्ला अदालतमा भने मुद्दा पनि दायर भइसकेको छ ।
सिआइबीसँगको बयानमा पूर्वअध्यक्ष शर्माले आफूले सहकारीको पैसा हिनामिना नगरेको दाबी गरेका छन्। विभिन्न कम्पनीमा लगानी गरेको उनको भनाइ छ। ती कम्पनीका नाममा उनले चार अर्ब रुपैयाँ कर्जासमेत लिएको अनुसन्धानमा खुलेको छ । जसकारण बैंकहरूको समेत लगानी जोखिममा परेको छ। कर्जाको विवरण बुझाउन प्रहरीले ६ वटा बैंकलाई पत्राचार गरेको छ । सहकारीले विभिन्न मार्टसमेत चलाएको छ । ती मार्टमध्ये कतिपय बन्द भइसकेका छन्।
मार्टमा भएका सामानसमेत बिग्रने भएकाले सामान कसरी व्यवस्थापन गर्ने भन्नेबारे प्रहरी र सहकारी विभागले छलफल थालेको छ। ०७० मा स्थापना भएको सहकारीले अन्य सहकारीभन्दा धेरै ब्याज दिएर निक्षेप संकलन सुरु गरेको थियो। पैसा संकलनसँगै कृषिसम्बन्धी व्यवसायमा लगानी गर्दै गयो। देशभरि शाखा पनि विस्तार गर्दै गयो। मार्टदेखि जग्गा कारोबारसम्म लगानी गरेको पाइएको छ । शिखरदीप सहकारीलाई समेत मर्ज गरेपछि संस्था अझै ठूलो भयो।
जब कोभिड महामारी सुरु भयो, त्यसपछि सहकारीमा समस्या आउन सुरु भएको प्रहरी अधिकारी बताउँछन्। लगानी गरेको ठाउँबाट ब्याज त आएन नै, साँवा पनि फिर्ता भएन। सहकारीमा एकैपटक पैसा निकाल्ने बढ्न थाले। फिर्ता दिने पैसा नभएपछि सहकारीमै ताला लागेको हो। पूर्वअध्यक्ष शर्मा भारत भागेका थिए। उनलाई मुम्बईबाट प्रहरीले पक्राउ गरी नेपाल ल्याएको हो। शिव शिखरको ठगीमा तीनजना जेलमा रहेको र चारजना प्रहरी हिरासतमा रहेको सिआइबीका एसएसपी दिनेश आचार्य बताउँछन्। अन्य फरारहरूको खोजी भइरहेको उनको भनाइ छ।