धनगढी। धनगढीमा डेङ्गु रोगका एक जना बिरामी फेला परेका छन्। स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालीका वडा नम्बर–९ गौरीकटानमा डेङ्गुका बिरामी फेला परेका हुन्।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले धनगढी वडा नम्बर–९ गौरीकटानका १४ वर्षीय एक किशोरमा डेङ्गु पुष्टि भएको बताए।बिहीवार बिरामी भएर अस्पताल आएका किशोरको रगत परीक्षण गर्दा डेङ्गु पुष्टि भएको धामीले बताए। बिरामीको अहिले उपचार भइरहेको छ।
अरू वर्ष भदौ र असोजमा देखा पर्ने डेङ्गु संक्रमण यो वर्ष असारमै देखा परेकाले सतर्क रहनुपर्ने स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख धामीले बताए। सफा पानीमा हुर्कने प्रजातिको लामखुट्टेले टोक्दा डेङ्गु संक्रमण हुन्छ। डेङ्गुबाट वच्न र बचाउन घर वरिपरि सफा पानी जम्न नदिने र दिनको समयमा लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरिएको बताए।कैलाली जिल्ला डेङ्गु रोगको जोखीममा छन्। सबैले आ–आफ्नो घर, टोल, समाज, कार्यालय लगायतका स्थानमा त्यहाँ वरिपरीको सरसफाइ गर्नु तथा पानी जम्न नदिनु नै डेंङ्गु नियन्त्रणको उपाय अपनाउनुपर्ने सुझाब छ।
डेंङ्गु रोगका बिरामीमा उच्च ज्वरो आउनु, टाउँको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिने गरेको छ। यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गराउन चिकित्सकको सुझाव छ। डेंङ्गु लामखुट्टको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य सरुवा रोग हो। यो एडिस एजप्टाई-एलबोपिक्टस जातको सङ्क्रमित लामखुट्टको टोकाइबाट मात्रै यो रोग सर्दछ । यो लामखुट्टेलाई टाइगर मसकुइटो पनि भनिन्छ।