काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ सालमा दुईतिहाइ मत दिएर रास्वपालाई जिताउन आग्रह गरेका छन् । पार्टी कार्यक्रमका लागि डडेलधुरा पुगेका सभापति लामिछानेले नयाँ पार्टी आएपछि पनि प्रमुख दलहरुमा बदलाव नआएको बताए ।
“हामीलाई लागेको थियो, नयाँ दलहरु आएपछि पुराना पार्टीहरुले चरित्र परिवर्तन गर्छन् होला भन्ने लागेका थियो । तर, आज सत्ता जोगाउने खेलमा पुराना राजनीतिक दलहरु लागेका छन् । उनीहरुलाई यो घण्टी खतराको घण्टी लागेकै छैन । यो घण्टी तोड्न लागिपरेका छन्, आफू सुध्रने लक्षण छैन,” लामिछानेले भने, “अहिले विभिन्न फाइल खोल्नेक्रम सुरु भएको छ । हामी खुसी छौँ । म डडेलधुराबाट भन्न चाहन्छु, फाइल बन्द गर्ने प्रयास नगर्नु होला, यसलाई जिस्क्याउने कुराझैँ नलिनुहोला ।
त्यसो गर्नुभयो भने यो खेल ०८४ सम्म त चल्ला, त्यसपछि चल्नेवाला छैन।”उनले देशको प्रमुख सत्रु नै भ्रष्टाचारी भएको भन्दै उनीहरुलाई जेल नहाली देश नबन्ने बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा केही नेता जेल गएको भन्दै आफूले यो प्रकरण जरैसम्म पुगेको हेर्न चाहेको बताए। “हाँगाबिगालाई मात्र जेल पठायो, जरालाई जेल पठाउन बाँकी छ। नेपाली जनता जरो कुरेर बसेका छन्,” लामिछानेले भने, “सरकारले खोलेको फाइललाई अन्त्यसम्म पु¥याउने आँट गरोस्, साहस गरोस्।
”उनले दलहरुसँग नारा राम्रै भए पनि नेताहरुको पारा ठिक नभएको बताए। रविको भाषण सुन्न असारे झरीमा सयौं सर्वसाधारण छाता ओडेर आएका थिए। सर्वसाधारण भिजेको देखेपछि रविले मञ्चको पोडियमबाट नभई भिजेरै सम्बोधन गरेका थिए। ‘डडेल्धुराले साइत पा¥यो। डडेल्धुरामा केही न केही पक्कै छ। घटाल बाबा र उग्रतारा माताको आर्शीवाद लिएर आएको छु’ रविले भने ।कांग्रेस सभापति देउवालाई डडेल्धुराले पटक–पटक निर्वाचित गरेर प्रधानमन्त्री बनाए पनि उनले देशको पक्षमा निर्णय गर्न नसकेको रविले बताए।
‘देउवाको आलोचना गर्न म यहाँ आएको होइन, गरिब किसानको छोरो प्रधानमन्त्री बन्न सक्दो रहेछ भनेर उहाँले देखाउनु भयो’ रविले भने, ‘अब निर्वाचित भएर जाने व्यक्तिले घरपरिवारको मात्र भलो नहेरोस्।’ नयाँ दल आएपछि पुराना दलले आफूलाई परिवर्तन गर्लान् भनेको उल्टै नयाँ–नयाँ काण्ड शुरु भएको उनले दाबी गरे । ‘सरकारले भ्रष्टाचारका फाइल खोल्न शुरु गरेको छ। जिस्काउन फाइल खोलेजस्तो नहोस्। शरणार्थी प्रकरणमा पनि सरकारले हाँगाबिँगा मात्र काट्यो, जरोलाई जेल पठाउन बाँकी छ’ रविले भने, ‘मैले प्रधानमन्त्रीलाई संसदमा सोधेको थिए, तपाईंको मुटु जाँच्न चाहन्छु भनेर । मुटु जाँचको रिपोर्ट आएको छैन, रिपोर्ट आउनु प¥यो।’