बैतडी। बैतडीका स्थानीय तहले लक्षित वर्गका लागि विनियोजित रकम असारे गोष्ठीमा खर्च गरेको छ । बैतडीको पाटन र दशरथचन्द नगरपालिका, सिगास गाउँपालिकाले लक्षित वर्गका लागि विनियोजित रकम असार महिनाभर विभिन्न होटलमा सभा, गोष्ठी र तालिम आयोजना गरी स्वाहा पारेका हुन् ।
सो पालिकाले लक्षित वर्गका लागि विनियोजन गरेको ५० लाख रुपियाँ होटलमा तालिम चलाएर सकेको छ। दशरथचन्द नगरपालिकाले दलितका लागि विनियोजित २८ लाख रुपियाँ कहाँ खर्च गर्ने भन्ने कुराको टुङ्गो लगाउन नसक्दा फ्रिज हुने भएको छ। पाटनले दलित, मुक्त हलिया र जनजातिका लागि विनियोजित रकम असार ११ गतेदेखि १४ गतेसम्म होटलमा कार्यक्रम चलाएर खर्च गरेको छ । एकल महिला र अपाङ्गता भएका व्यक्तिको रकम असार ७ गतेदेखि ११ गतेसम्म तालिम र गोष्ठीमा खर्च गरेको पाइएको छ।
दलित समुदायको पेसा व्यवसायलाई टेवा पुग्ने कुनै पनि कार्यक्रम नगरेको सिगास गाउँपालिका-२, का स्थानीय जन चर्मकारले बताए। असारको महिना लागेपछि लक्षित वर्गको बजेट गोष्ठी र तालिममा सक्ने परिपाटी बसेको उनले गुनासो गरे। लक्षित वर्गको बजेट चिया, बिस्कुट र मासु भातमा सक्नु भनेको निकै दुःखको कुरा भएको दलित अगुवा टेक विश्वकर्माले बताए । दलित र अपाङ्ग व्यक्तिको सीप विकासका लागि छुट्याइएको बजेट लक्षित वर्गलाई समेत जानकारी नदिई खर्च हुने गरेको पाइएको छ ।
यस्तै बैतडीको दशरथचन्द नगरपालिकाले महिला लक्षित कार्यक्रमको रकमे खेलौना बनाउने तालिममै खर्च गरेको छ । भने सुर्नया गाउँपालिकाले महिलालाई नाचगान गर्न डिजे माइक र कुर्सी किनेर खर्च गरेको छ। दशरथचन्दमा दलितका लागि विनियोजित रकम भने खर्च हुन सकेको छैन। सुर्नयाले नाचगान गर्न महिलाका लागि डिजे माइक र कुर्सी किनेर दिए पनि दलितका पेसा व्यवसायलाई टेवा पुग्ने बजेट नदिएको दलित अगुवा जयराम लुहारले बताए। सुर्नयाका चार नगरपालिका, छ वटा गाउँपालिका गरी १० स्थानीय तहका ८४ वडा रहेका छन्। २०७८ सालको जनगणना अनुसार दुई लाख ४४ हजार ४ सयमध्ये ५१ प्रतिशत महिला र कुल जनसङ्ख्यामध्ये दलितको जनसङ्ख्या करिब ५५ हजार रहेको छ।